Logo

१५ माघ,वीरगञ्ज । ‘लिभिङ् विथ इन्भायरमेन्ट’ को आयोजनामा जलवायु परिवर्तनको प्रभावले वीरगञ्जमा देखिएको पानी अभाव विषयमा पावर प्वाइन्ट प्रस्तुतीकरण प्रतियोगीता सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष आकाश चौहानको अध्यक्षतामा भएको प्रतियोगीतामा वीरगञ्जका १० वटा विद्यालयले सहभागिता जनाएको थियो ।

सहभागी विद्यालयका विद्यार्थीहरुले जलवायु परिवर्तनका विभिन्न कारक तत्व र तिनका समाधानका उपायहरुका बारेमा प्रस्तुती दिएका थिए । विश्व स्तरमा भइरहेको र नेपाल तथा तराई मधेशमा भइरहेको जलवायु परिवर्तनका बारेमा उनीहरुले प्रकाश पारेका थिए ।

व्यापक रुपमा भइरहेको चुरे दोहन, कंक्रिटीकरण, खोला नालामा गरिने प्रदूषण, अवैध उत्खनन् लगायतका कारण र नियमित रुपमा गरिने मानवीय गतिविधिले जलवायु परिवर्तन हुँदै गएको विद्यार्थीहरुले आफ्नो प्रस्तुतीमा समावेश गरेका थिए थियो ।

सहभागी विद्यार्थीहरूले केही समय अघि मात्रै वीरगञ्जले बेहोरेको पानी अभावको अवस्थाका बारेमा पनि अवगत गराएका थिए । जमिन मूनिको जलसतह रिचार्ज नभएर पानीको अभाव भएको हुँदा जनचेतना फैलाउनेदेखि खाली ठाउँमा वृक्षरोपण गर्ने, बन फँडानीमा नियन्त्रण गर्ने, चुरे दोहन नगर्ने, जथाभावि बोरिङ् नलगाउने जस्ता कुराहरुमा ध्यान दिनुपर्ने उनीहरुको सुझाव थियो । साथै उनीहरुले स्थानीय तहसहित सरोकारवाला निकायको पनि ध्यानाकर्षण गराएका थिए ।

पावरप्वाइन्ट प्रस्तुतीकरण प्रतियोगीतामा गौतम माविका दिवश गुप्ता र श्रुतिका मान्शी मौर्य प्रथम, ओम नेशनल एकेडेमीका अनिश कुमार साह, आमिचन प्रसाद कुशवाह र गरिमा यादव द्वितिय र ग्लोबल बिजनेस कलेजका मान्सी नेपाली साह र अदिति कर्ण तृतिय भएका थिए ।

 

प्रतियोगीताको निर्णायकको भूमिका डा. सुष्मा तिवारी द्विवेदी र कञ्चन झाले गर्नुभएको थियो । कार्यक्रमलाई मधेश विश्वविद्यालयका उपकूलपति प्राध्यापक डा. दीपक शाक्य, वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ का वडाअध्यक्ष आशुतोष चर्तुवेदी, जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ लगायतले सम्बोधन गरेका थिए भने लिभिङ् विथ इन्भायरमेन्टका संयोजक अनामिका तिवारी, सदस्यहरु उज्वल राउत,आलोक मण्डल र आयुष्मा सोनीको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार