Logo

१८ माघ,जनकपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनकपुरधाममा शुरु भएको महोत्सवलाई विद्वतवर्गको सभा रहेको बताएका छन् ।

जनकपुरधाममा बिहीबारदेखि सुरु भएको पाँच दिवसीय जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सवको उद्घाटनको क्रममा पूर्वप्रधानमन्त्री नेपालले मिथिलाको इतिहास स्मरण गर्दै प्राचिनकालमा जनकको राजधानी जनकपुरधाम विद्वान, ऋषिमुनीलगायतको विचार, विमर्श, मनथन भुमिको रुपमा रहेको बताउँदै उनले मैथिली भाषा, साहित्य, कला तथा संस्कृतिको गम्भीर विमर्श हुनु आश्वयक रहेको बताए ।

उनले मिथिला र मैथिली भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण र संवद्र्धनको आवश्यकता रहेकाले यसको अस्तित्व बचाउन जरुरी रहेको बताए ।

मधेश प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय र मैथिली विकास कोषको आयोजना एवं जनकपुरधाम उपमहानगरपालिकाको सह–आयोजनामा भएको उद्घाटन कार्यक्रममा उनले प्राचीनकालदेखि नै मिथिला ज्ञान, विज्ञान तथा विद्वान, विदुषीहरूको भूमि रहेको चर्चा गरे ।

उनले यो भुमि राजा जनक प्रजाका प्रिय नेतासमेत रहेको बतउँदै उनले अहिलेका राजनीतिज्ञहरूका लागि प्रेरणाको श्रोत रहेको बताए ।
राजा जनकले त्यतिबेला नै श्रमको महत्व बढाएको बताउँदै उनले राजा जनकले खेतीपातीका लागि आफैले श्रम गरेर मिहिनेत गररु श्रमको निष्ठा र यसप्रतिको सम्मानका लागि राजा जनकले अद्भुत भुमिकाको प्रदर्शन गर्नु भएको थियो, उनले बताए ।

उनले राजा जनकले अध्यात्मिक साहित्यक हिसाबले सनतान वैदिक धर्म बढाउने कार्यका लागि अभियान नै चलाएको स्मरण गरे ।
उनले मैथिली संस्कृतिका अतिरिक्त यस क्षेत्रमा भएका अन्य जातजातिको भाषा, साहित्य तथा संस्कृतिलाई देखाउने अवसर प्रदान गरेर मिथिलाले देशलाई जोड्ने सन्देश दिएको बताए ।

त्यसैगरी जनता समाजवादी पार्टी जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले विगतभन्दा अहिलेको संविधान महत्वपूर्ण रहे पनि त्रुटीपूर्ण रहेको बताए । उनले गणतन्त्र नेपालमा वञ्चित र भेदभाव अझै पनि कायमै रहेकाले यसको अन्त्य हुनु जरुरी रहेको बताए ।

उनले चेतावनी दिँदै संविधान संशोधन नभएमा संविधान फ्याल्नेहरु आइसकेको बताउँदै उनले समयमै संशोधन आवश्यक रहेको बताए ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले महात्मा गान्धीको स्मरण गर्दै मातृभाषालाई आमाको दुध र अन्य भाषालाई बेलायती दुधको संज्ञा दिए ।

उनले मातृभाषा मैथिली भाषाको साहित्यको विकासको लागि काम गर्न जरुरी रहेको बताए ।
उनले मातृभाषा मैथिली रहेकाले शिक्षाको व्यवस्था गर्नु जरुरी रहेको बताए । उनले राज्यले शिक्षाको सवालमा षड्यन्त्र गरेर मातृभाषाको विस्तार तथा कामकाजको भाषा बन्न नदिनका लागि स्थानीयले आफैले खर्च गरेर विकास गर्नुपर्ने बताए ।

नेपाली भाषालाई बलियो बनाउनका लागि मातृभाषाप्रति संघीय सरकारले नै षड्यन्त्र गरि विभेद गरेको उनले बताए ।
उनले मल्लकालमा मैथिली भाषा काठमाण्डुको राजकाजको भाषा भएको चर्चा गर्दै नेपाली भाषाको जन्मसमेत त्यतिबेलाको नभएको बताए ।
उनले त्यतिबेला मैथिली भाषा, साहित्य, कला र संस्कृति समृद्धि भएको इतिहास साक्षी भएको बताए ।
भाषा तथा क्षेत्रमा विभेद गर्ने काम गणतन्त्रमा पनि भइरहेको बताउँदै संवैधानिक रुपमा नै अहिले कुनै एक भाषालाई राज्यको संरक्षण दिने काम भएको छ भने अन्य भाषालाई संरक्षणको जरुरी रहेको उनले बताए ।

उनले मधेश प्रदेश स्थापना भएपछि मधेशीको पहिचान बढेपनि मधेशका लागि दिएको बजेट निक्कै कम भएको बताउँदै प्रदेशले चाडै मैथिली सहितका भाषालाई प्रदेशको कामकाजी भाषा बनाउने बताए ।

मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले मैथिली तथा भोजपुरी सहितको भाषाको विकासका लागि प्रदेश सरकारले सुरुदेखि नै विभिन्न प्रकारको कामकाज गर्दै आएको बताए ।

नेपाली कांग्रेसका सह–महामन्त्री मैथिली भाषा, साहित्य तथा संस्कृतिको विकासका लागि राज्यले संरक्षण गर्नुपर्ने बताए ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले मैथिली भाषाको प्रभाव अहिले पनि देशको विभिन्न भागमा विस्तार हुन थालेको बताउँदै यस महोत्सवले थप मद्दत मिल्ने बताए ।

मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीको सभापतित्वमा नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री रामचन्द्र झा, मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्ण प्रसाद यादव, अर्थमन्त्री संजय कुमार यादव, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सुनिता यादवलगायतकाले महोत्सवको सफलताको शुभकामना दिएका थिए ।


सम्बन्धित समाचार