Logo

२२ माघ,बारा । जीतपुरसिमरा उपमहानगरपालिकाले जटिल रोगका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

मिर्गाैला प्रत्यारोपण गरेका, डायलायसिस गराइरहेका, क्यान्सर र मेरूदण्ड पक्षघात भएकालाई औषधोपचारका लागि सहयोग गरिएको उपमहानगरपालिकाको जन स्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख रबि भाष्करले जानकारी दिए ।

नेपाल सरकारले यी चार रोगका बिरामीलाई उपचारमा सहयोग गर्ने उद्देश्यले कार्यविधि बनाएर उपचार खर्च उपलब्ध गराउन देशैभरका स्थानीय तहमा पठाउँने गर्दछ ।

मिर्गौला प्रत्यारोपण गरेका, डायलायसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएकालाई औषधोपचार वापत खर्च उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७८ अनुसार जीतपुरसिमरा उपमहानगरपालिकाले कार्तिक महिना देखि पुष महिना सम्मको १ सय २ जना बिरामीलाई तीन महिनाको रु १५ हजारका दरले सम्बन्धित बिरामीको खातामा रकम जम्मा गरिएको नगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख भाष्करले जानकारी दिए ।

लाभग्राहीको सङ्ख्या १ सय ४ जना भएपनि २ जनाको मृत्यु भएका कारण १ सय २ जनाको रकम बैँकमा पठाईएको उनले बताए । उपमहानगरपालिकाले कार्यविधिअनुसार चिकित्सको रोग प्रमाणित हुने कागजपत्रको आधारमा रकम बैंकमा जम्मा गरिदिएको हो ।

जीतपुरसिमरा उपमहानगरपालिकाले त्रैमासिक रूपमा बिरामीको खातामा पैसा जम्मा गर्ने गर्दछ । गत आर्थिक बर्ष २०७९।०८० देखि जीतपुरसिमरा उपमहानगरपालिकामा यी जटिल रोगका बिरामीहरुलाई औषधी उपचारकोलागि रकम उपलब्ध गराउँन थालिएको हो ।

नेपाल सरकारबाट उपलब्ध गराइँदै आएको ज्येष्ठ नागरिक भत्ता, एकल महिला भत्ता, दलित भत्ता, पिछडिएको भत्ता, अपांग भत्तालगायत नेपाल सरकारबाट पाई आएको सामाजिक सुरक्षा भत्ता वा यस निर्देशिका बमोजिम उपलब्ध गराइने मध्ये कुनै एक किसिमको भत्ता र मासिक वृत्तिमात्र प्राप्त गर्न सक्ने ब्यवस्था कार्यबिधिमा रहेको जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख भाष्करले जानकारी दिए ।

जीतपुरसिमरा उपमहानगरपालिकाले आफनो स्वीकृत कार्यबिधि अनुसार मुटुरोग ,अल्जाईमर ,हेड ईन्जुरी ,सिकलसेल लगायतका बिरामीहरुलाई पनि उपचारकोलागि एक पटककोलागि रु १० हजार सम्मको सहयोग गर्ने गरेको जीतपुरसिमरा उपमहानगरपालिकाको जन स्वास्थ्य प्रबद्र्धन शाखाले जनाएको छ ।


सम्बन्धित समाचार