Logo

२२ माघ,वीरगञ्ज । नेपालको प्रमुख प्रवेशद्वार, आर्थिक तथा औद्योगिक नगरीको नामले चिनिने वीरगन्जको व्यापार सुस्त रहेको छ । राजस्व संकलनको प्रमुख स्थानहरु मध्य दोश्रो स्थानमा पर्ने वीरगन्ज यतिखेर निकै शिथिल बन्दै गएको छ ।

व्यापार व्यावसाय चौपट भएपछि अहिले व्यावसायको ‘आउटलेट’ राख्ने सहरका सटर पसल र घर हरुमा ‘टु–लेट’ का बोर्ड झुण्डिएका देखिन्छन् । साना चिया पसलदेखि ठूला ठूला औद्योगिक घरानाका व्यापारीहरुमा नैराश्यता छाएको छ ।

कपाल काट्ने हजामको पेशादेखि सडकमा यात्रु ओसार्ने अटो रिक्सा चालकको पेशा मात्रै होईन चिकित्सा पेशा पनि संकटमा परेको छ । सैलुनमा कपाल दाह्री काट्न आउनेहरुदेखि अटोमा सवार गर्ने यात्रुहरु नपाउँदा पेशाकर्मीहरुलाई दैनिकी नै अप्ठ्यारोमा पर्ने चिन्ता बढेको छ ।

देशको आर्थिक सूचकांक आशालाग्दो रहेको छ । तर, भुईँ तहको अवस्था भने निराशाजनक छ । दैनिक कार्यालय जानेहरु आजभोली हिडेर गईयो भने अटोमा लाग्ने भाडाले दुईछाक तरकारी किन्न हुन्छ भनेर सोच्न बाध्य छन् ।

जसले गर्दा अटोमा यात्रु नपाएर आफ्नो निर्धारित रुटमा चल्ने अटोले पनि यात्रु बटुल्दै हिड्नुपर्ने अवस्था छ । रुटमा यात्रु पर्खेर बस्दा नभेटिएला कि भन्ने चिन्ता हुने गरेको एक अटो चालकले भन्नुभयो । त्यसैले जुन रुटको यात्रु पाउछ त्यहि रुटको यात्रु बटुल्दै हिड्नुपरेको उहाँले बताउनुभयो ।

निम्नवर्गसँग मात्रै होईन अहिले मध्यमवर्गका परिवारसँग पनि पैसा छैन । बजारमा उद्योग व्यापार गर्नेहरुलाई बैंकको ब्याज र किस्ताले पिरोलेको छ । उनीहरु पनि बैंकको ब्याज र किस्ता तिर्ने पैसा बचत गर्नकै लागि घरको भान्सामा लाग्ने खर्चमा कटौती गर्न बाध्य छन् ।

निम्न, मध्यम र सम्पन्न सबैतिर आर्थिक संकट परेपछि स्वास्थ्य समस्या भएकाहरुले समेत समयमा उपचार गर्नका लागि स्वास्थ्य संस्थामा जानेहरुको संख्यामा पनि कमी आएको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले बताउने गरेका छन् ।

देशको यस्तो अवस्था आफ्नो जीवनको पहिलो अनुभव रहेको व्यावसायमा लागेकाहरुको भनाई छ । वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतमले देशको अर्थतन्त्र निकै चिन्ताजनक अवस्थामा रहेको बताउनुभयो ।

आफ्नो जीवनको अहिलेसम्मकै सबैभन्दा खराब अर्थतन्त्र भएको र अहिलेसम्म यस्तो अवस्था केहिल्यै थाहा नपाएको उहाँको भनाई छ । व्यापारिक नगरी वीरगन्जका सटर पसलहरु अधिकांश बन्द हुन थालेका छन् । कतिपयले व्यावसायबाट नै पलायन समेत भएका छन् ।

वीरगन्जको मुख्य बजारमा पसल खोलेकाहरु बन्द गरेर पलायन भएका हुन् । आर्थिक मन्दीले २५ देखि ३० प्रतिशत मात्रै उद्योगहरु सञ्चालनमा रहेको अवस्थामा अहिले अनियमित विद्युत कटौतीले दोहोरो मारमा उद्योगहरु परेको गुनासो उद्योगी व्यवसायीहरुले गरेका छन् ।

वीरगन्ज–पथलैया औद्योगिक करिडोरका उद्योगहरुको उत्पादनमा ह्रास आएको छ । राज्यको गलत आर्थिक नीतिका कारणले कच्चा पदार्थ महंगो पर्ने र तयारी भारतीय वस्तुहरुसँगको बजारमा प्रतिस्पर्धा गर्न नसक्दा स्वदेशी उत्पादन गर्ने उद्योगहरु थप मारमा परेको उद्योगीहरुले बताएका छन् ।

वीरगन्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरुले सरकारदेखि सत्तारुढ दल र विपक्षी दलका नेताहरुलाई समेत व्यक्तिगत र संस्थागत भेटेर देशको आर्थिक अवस्थाको बारेमा जानकारी गराउनुको साथै समाधानका लागि उपाय र सुझाव समेत दिएका छन् । तर, ती सुझाव र उपायहरुको बारेमा सरकारले खासै वास्ता नगरेको उनीहरुको गुनासो छ ।


सम्बन्धित समाचार