Logo

२३ माघ,सर्लाही । सर्लाहीको मलङ्गवा नगरपालिका–१०, गम्हरियामा सोमबार राति भएको सवारी दुर्घटनाका घाइतेमध्ये एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा नापी कार्यालय मलङ्गवाका प्रमुखसहित गाडीमा सवार ११ जना घाइते भएकोमा कार्यालय सहयोगी बागमती नगरपालिका–११, कर्मैयाका ४५ वर्षीय विनोद घिमिरेको मृत्यु भएको हो । घिमिरेको उपचारका क्रममा एलएस न्युरो अस्पताल कलैया, बारामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्य १० जना घाइते उपचाररत छन् । सोमबार राति पौने ८ बजेतिर नवलपुर–मलङ्गवा सडक खण्डमा सदरमुकाम मलङ्गवाबाट नवलपुरतर्फ आउँदै गरेको नापी कार्यालयका कर्मचारी सवार बीआर ०६ पिडी ९६४८ नम्वरको सफारी गाडी गम्हरिया गाउँदेखि उत्तर नवलपुरतर्फ नै उखु बोकेर आउँदै गरेको ज २ त १०६७ नम्वरको ट्याक्टरमा पछाडिबाट ठोक्किएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

घाइते १० जनामध्ये नापी कार्यालयका प्रमुख काभ्रेको बनेपा नगरपालिका घर भएका ४५ वर्षीय सञ्जय मानन्धर, महोत्तरीका ३० वर्षीय बैजु यादव र सर्लाहीको मलङ्गवा नगरपालिका–३, का ३५ वर्षीय रामलाल साहको अवस्था गम्भीर छ ।

त्यस्तै दुर्घटनामा सर्लाहीको कौडेना गाउँपालिका–२, का २४ वर्षीय सन्जित मण्डल, महोत्तरीको एकडारा गाउँपालिका–२, का ३० वर्षीय रिटेन यादव, सर्लाहीको मलङ्गवा नगरपालिका–३, का ५० वर्षीय बैधनाथ पटेल, मलङ्गवा नगरपालिका–७, का ३४ वर्षीय रामबाबु राय, धनुषाको शहीदनगर नगरपालिका–७, का २९ वर्षीय दीपेन्द्र यादव, बाराको कलैया उपमहानगरपालिका–२०, का २४ वर्षीय शहीद अनवर र महोत्तरीका २५ वर्षीय अजय यादव घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये पाँच जनाको एलएस न्युरो अस्पताल कलैया, तीन जनाको नेशनल मेडिकल कलेज वीरगन्ज, एक जनाको बयोधा अस्पताल वीरगन्ज र एक जनाको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार जारी छ ।

दुर्घटनापछि गाडीभित्रै च्यापिएका घाइतेलाई स्थानीय र प्रहरी भएर उद्धार गरेका थिए । सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपेन्द्र पंजियार थारुले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताउनुभयो । दुर्घटनामा नापी कार्यालयका कर्मचारी सवार गाडी क्षतिग्रस्त छ ।

उखु बोकेको ट्याक्टरका चालक फरार रहेका र उनको खोजी भइरहेको डिएसपी थारुले बताउनुभयो । कर्मचारी मिलन केन्द्र सर्लाहीको अध्यक्ष समेत रहेका प्रमुख नापी अधिकृत मानन्धरसहितको टोली माघ २७ गते आयोजना गरिएको वनभोज (पिकनिक) कार्यक्रमको तयारीमा जुटेको थियो ।

मानन्धरको नेतृत्वमा पछिल्लो समय नापी कार्यालय मलङ्गवाको कार्यालय व्यवस्थापनदेखि सेवामा व्यापक सुधार हुँदै गएको भन्दै प्रशङ्सा हुने गरेको छ ।

 

 


सम्बन्धित समाचार