Logo

२४ माघ,पर्सागढी ।पर्साको पर्सागढि नगरपालिका वडा नं. ३ मा निर्माण हुन लागेको प्रोबायोटिक ईण्डस्ट्रिज लिमिटेड ( ईकाई उद्योग–८ र ९ ) को उद्योग वातावरणीय परिक्षणको प्रयोजनार्थ सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

उद्योग स्थापनाको लागि वातावरणीय संरक्षण नियमावली (इपीआर) २०७७ ले तोकेबमोजिम प्रारम्भिक वातावरणीय परिक्षणका लागि आज उद्योग रहने स्थानको प्राङ्गणमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो ।

पर्सागढि नगरपालिका वडा नं. ३ मा दुई वटा प्लान्ट रहने गरि निर्माण हुन लागेको उद्योगको लागि उद्योग रहने स्थानको स्थानीयबासी, सरोकारवाला तथा जनप्रतिनिधिहरुको उपस्थितिमा उद्योग विभाग काठमाडौंका वातावरणीय निरीक्षण प्रतिनिधि दिनेश साहको उपस्थितिमा सार्वजनिक सुनुवाइ मार्फत राय सुझाव लिने काम भएको हो ।

कार्यक्रममा वातावरणीय प्रदूषणलाई पूर्णरुपमा नियन्त्रण गरि उद्योग संचालन गर्नुपर्ने, स्थानीयबासीलाई रोजगारिमा प्राथमिकता दिनुपर्ने र उद्योग नजिकका मानवबस्तीमा प्रदुषण तथा कृषि योग्य कार्यमा असर नपर्ने गरि उद्योग संचालन गर्नुपर्नेमा वक्ताहरुले सुझाए । दुई बिघा पाँच कठ्ठा क्षेत्रफलमा रहने उद्योगको निर्माण लागत ५२ करोड लाग्ने बताइएको छ ।

यसमा दुई वटा प्लान्ट रहने पहिलोमा गहुँ र मकैको चक्की आटा र च्याख्लाको उत्पादन गर्ने र दोश्रोमा चिप्स, चिजबल्स, कुरमुरे, स्वाबिन लगायतको उत्पादन गरिने निरिक्षक साहले बताए ।

उनका अनुसार उद्योग संचालनमा पानीको प्रयोग नहुने र तापको समेत आवश्यकता नपर्ने भएको हुनाले वातावरण प्रदूषण हुदैँन । सार्वजनिक सुनुवाइ कार्यक्रममा पर्सागढि नगरपालिका वडा नंं ३ का वडा सदस्य सीता लामा, उद्योग प्रतिनिधि मोहम्मद सायद अलि, ईन्जिनियर रमेश यादव लगायत स्थानिय सरोकारवाला तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार