Logo

२६ माघ,काठमाण्डौ । सरकारले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा फिर्ता ल्याएर व्यवसायी अरुण चौधरीलगायतलाई उन्मुक्ति दिने गरी प्रक्रिया थालेको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय काठमाण्डौले बाँसबारीको १० रोपनी जग्गा नेपाल सरकारका नाममा ल्याउन च्याम्पियन फुटवेयरका नाममा २१ दिने सूचना जारी गरेको छ ।

अहिले चाँदबाग रेसिडेन्सीका सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई २१ दिनभित्र आफैँ वा वारेसमार्फत् उपस्थित हुन मालपोत कार्यालयले पत्र काटेको हो ।

चाँदबाग सिजी होल्डिङ्सअन्तर्गत सञ्चालित कम्पनी हो । यसका अध्यक्ष अरुण चौधरी, चाँदबागका अध्यक्ष ठाकुर र बाँसबारी छालाजुत्ता कम्पनीका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापा जग्गा हिनामिना प्रकरणमा पक्राउ परेर हाजिरी जमानीमा छुटेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले कीर्ते र ठगीमा अनुसन्धान गरिरहेको बेला मालपोतले जग्गा फिर्ता ल्याउने प्रक्रिया थालेको हो । मालपोतले प्रतिवादीलाई २१ दिनभित्र उपस्थित नभए कानुनअनुसार जग्गा सरकारका नाममा ल्याउन स्वतः प्रक्रिया अघि बढ्ने जनाएको छ ।

सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा नामसारी गरेको अभियोगमा प्रहरीले मुद्दा चलाउने तयारी गरिरहँदा सरकारले भने जग्गा फिर्ता गराएर मुद्दा कमजोर बनाउने र उन्मुक्ति दिने तयारी थालेको हो । यसअघि पक्राउ परेका अरुण चौधरीले बयानका क्रममा जग्गा फिर्ता दिन तयार रहेको बताएका थिए ।

 


सम्बन्धित समाचार