Logo

२८ माघ,सप्तरी । सप्तरीको राजविराज कारागारको थुनामा रहेका बन्दी मृत भेटिएका छन् । बलात्कारको आरोपमा पुर्पक्षका लागि कारागारको थुनामा रहेका एकजना बन्दी मृत भेटिएका हुन् ।

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–६ का १९ वर्षीय देवेन्द्र मण्डल आज मृत अवस्थामा फेला परेका कारागार प्रशासनले जनाएको छ । कारागारका निमित्त प्रशासक सदानन्द दासले मण्डलको शव कारागारभित्रको शौचालयमा झुण्डिएको अवस्थामा आज बिहान फेला परेको जानकारी दिनुभयो । गत साउन १३ गते राति १५ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा मण्डल गत भदौ ११ गतेदेखि पुर्पक्षका लागि कारागारमा बन्दी थिए ।

बालिकालाई घरबाट जबरजस्ती तानेर पाँच सय मिटर पूर्वपोखरीको डिलमा लगेर बलात्कार गरेको भन्दै पीडितका अभिभावकले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएक थिए । हनुमाननगर कङ्कालिनी–६ का २३ वर्षीय देवनाथ मण्डल, २३ वर्षीय श्यामसुन्दर मण्डल र २० वर्षीया जसोधाकुमारी मण्डलले हातखुट्टा समातेपछि देवेन्द्रले बालिकाको सिउँदोमा सिन्दूर हालेको पीडितका बुवाको भनाइ थियो । जिल्ला प्रहरी कार्यालयले मण्डललाई गत साउन १७ गते पक्राउ गरेको थियो ।

प्रहरी कार्यालयमा गत साउन १८ गते बलात्कारको उजुरी दर्ता भएकोमा सप्तरी जिल्ला अदालतमा गत भदौ १० गते अभियोगपत्र दायर भएको थियो । जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलाशले मण्डललाई भदौ ११ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा राख्ने आदेश दिएको थियो । पासोमा झुण्डिएर आत्महत्या गरेका मण्डलको घटना थाहा पाएलगत्तै कारागार प्रशासनले परिवारलाई जानकारी दिएको निमित्त कारागार प्रशासक दासले बताउनुभयो ।

परिवारका सदस्य आएपछि शवको मुचुल्का गरिने उहाँले जानकारी दिनुभयो ।

 


सम्बन्धित समाचार