Logo

१ फागुन,काठमाडौँ ।सुस्ता गाउँपालिका– ३ मर्चहवा निवासी ६५ वर्षीय यक्षलाल चमार र उनका ११ वर्षीय नाती गौचरण चमारको गएराति हत्या भएको हो।

मंगलबार बिहान उनीहरुको शव घरदेखि झण्डै पाँचसय मिटर दक्षिणमा रहेको खेतको छाप्रो बाहिर फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका एसपी काजीकुमार आचार्यले जानकारी दिए।

खेतबारीको बाली रुँघ्न बनाइएको छाप्रो बाहिर हजुरबा र नातीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

घरटनास्थलमा अहिले एसपी आचार्य, डीएसपी रेशम बोहोरासहितका प्रहरी अधिकारी पुगेका छन्।

छाप्रो बाहिर १५ मिटरको दुरीमा हत्या गरेर फालेको अवस्थामा हजुरबा र नातीको शव फेला परेको डीएसपी बोहोराले जानकारी दिए।

‘एसपी सापसहित अहिले हामी घटनास्थलमै छौँ,’ डीएसपी बोहोराले नेपालखबरसँग भने, ‘तालिमप्राप्त कुकुरसहित हामीले घटनाको अनुसन्धान अघि बढाएका छौँ।’

हजुरबार नातीको हत्या भएको निष्कर्षमा पुगे पनि अहिलेसम्म शंकास्पद कसैलाई पक्राउ नगरिएको उनले बताए।

बोहोराका अनुसार मृतक वृद्धका छोरा कामको शिलशिलामा भारतमा बस्दै आएको खुलेको छ। उनको नाम भने प्रहरीले खुलाएको छैन। यक्षलाल एक नातिसहित घरमा बस्दै आएका थिए।

उनकी बुहारी भने एक छोरा र एक छोरीलाई लिएर एक महिनाअघि नै माइत (भारत) गएको स्थानीयले बताएका छन्।

‘हामी घटनाको सबै कोणबाट अनुसन्धान गर्ने छौँ,’ डीएसपी बोहोराले भने, ‘यो घटनाको प्रारम्भिक विवरण मात्रै हो। विस्तृत विवरण हामी पछि सार्वजनिक गर्ने छौँ।’


सम्बन्धित समाचार