Logo

२ फागुन,वीरगञ्ज । आज प्रेम दिवस, अर्थात् भ्यालेन्टाइन डे । प्रत्येक वर्ष १४ फ्रेबुअरीमा नेपालसहित विश्वभर भ्यालेन्टाइन डे मनाइन्छ । प्रेमी प्रेमिका तथा आफूले प्रेम गरेको व्यक्तिलाई रातो गुलाब दिएर प्रेम अभिव्यक्त गर्ने प्रचलन छ । रातो गुलाबसँगै बजारमा अन्य रङका गुलाबको माग पनि त्यतिकै हुने गरेको छ ।

यस वर्ष प्रणय दिवसमा ३ लाख ५० हजार गुलाब बिक्री हुने अनुमान छ । तर चिसोका कारण यो समय नेपालमा कम फुल्ने हुँदा ९० प्रतिशत भन्दा बढी गुलाब भारतबाट आयात गरिएको हो । यो आयात सबै अवैध बाटोबाट मात्रै हुने गरेको छ ।

केही वर्षयता नेपालमा पनि गुलाबको फूल दिएर प्रणय दिवसमा मनाउने प्रचलन बढ्दै गएको छ । गत वर्ष प्रणय दिवसको दिन ३ लाख ४८ हजार वटा गुलाबका फूल बिक्री भएको तथ्यांक छ। यस वर्ष करिब एक करोड ८० लाख रुपैयाँ बराबरको ३ लाख ५० हजार गोटा बिक्री हुने अनुमान छ ।

अन्य दिनमा भने सरदर दैनिक १० देखि १२ हजार गोटा फूल किनबेच हुन्छ । केही वर्ष अघिसम्म नेपालले वार्षिक १९ करोड रुपैयाँभन्दा बढीको गुलाब निर्यात गर्थ्यो । तर सुन्दरीजलमा रहेको १ सय ५० रोपनीमा वातानुकूलित गुलाब नर्सरी बन्द भएपछि अहिले आयातमै निर्भर छ । स्वदेशी उत्पादनले १० प्रतिशत मात्रै धान्ने गरेको छ ।

गत वर्ष प्लान्टक्वारेन्टिइन तथा विषादी व्यवस्थापन केन्द्रले गुलाब आयात गर्दा १६ प्रकारका रोग परीक्षण गरेर मात्रै भित्र्याउन पाउने व्यवस्था गरेको थियो । तर त्यस मध्ये २ वटाको परीक्षण भारतमा समेत नहुने भएपछि सबैजसो आयात अवैध बाटोबाट हुने गरेको हो ।

 


सम्बन्धित समाचार