Logo

२ फागुन,ढल्केबर । धनुषाको ढल्केबरमा महेन्द्र बहुमुखी क्याम्पसको भवन शिलान्यास गरिएको छ । बुधबार मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतो र उपप्रमुख सुनीतासिंह बुढाथोकीले एक कार्यक्रमबिच क्याम्पस भवनको शिलान्यास गर्नुभएको हो ।

भवन शिलान्यास गर्दै नगरप्रमुख महतोले क्याम्पस निर्माणपश्चात् यस भेगका विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न बाहिर जानुपर्ने बाध्यता हट्ने बताउनुभयो । उहाँले प्रस्तावित योजना अनुसार बिएड, बिडिएस, बिबिएस, सिटिइभिटीअन्तर्गत तीन वर्षे सिभिल ओभरसियर र सर्भेयर (अमिन) को पढाइ हुने जानकारी दिनुभयो ।

नगरप्रमुख महतोले क्याम्पस भवन निर्माण गर्ने १५ करोड रुपियाँभन्दा बढी खर्च अनुमान गरिएको बताउँदै सबै खर्च नगरपालिकाको आफ्नै बजेटबाट हुने बताउनुभयो । “भवन निर्माणका लागि चालू आर्थिक वर्षमा साढे चार करोड रुपियाँ साधारण सभाबाट छुट्टयाएका थियौँ । जसमध्ये टेन्डरमार्फत एमएस जेभी निर्माण कम्पनीले अढाइ करोड रुपियाँमा ब्लक बि अन्तर्गतको पहिलो तलाको ठेक्का पाएको छ“, उहाँले भन्नुभयो ।

क्याम्पस निर्माण तथा सञ्चालनका लागि आवश्यक सबै कानुनी प्रक्रिया पूरा भएको बताउँदै नगरप्रमुख महतोले भवन निर्माण भए लगत्तै क्याम्पस सञ्चालन गरिने बताउनुभयो ।


सम्बन्धित समाचार