Logo

४ फागुन,वीरगञ्ज । वीरगञ्ज पब्लिक कजलेजमा मधेसकै पहिलो सूचना प्रविधि प्रतियोगिता (ह्याकफेस्ट) को आयोजना गरिएको छ । सूचना प्रविधिको बढ्दो प्रयोगसँगै यसलाई थप परिस्कृत गरी प्रविधमैत्री बनाउनका लागि शुरु भएको ह्याकाथोन प्रतियोगिता वीरगन्जमा पहिलो पटक आयोजना गरिएको हो ।

वीरगञ्ज पब्लिक कलेजको व्यावस्थापनमा विभिन्न संघ संस्थाहरुको सहयोग र सहकार्यमा वीरगञ्जमा पहिलो पटक सूचना प्रविधि प्रयोगको प्रतियोगिताको आयोजना गरिएको वीरगञ्ज पब्लिक कलेजका प्राध्यापक वासुदेवलाल कर्णले बताए । उनका अनुसार यसअघि काठमाडौं उपत्यकामा मात्रै सीमित रहेको यो ह्याकाथोन वीरगन्जमा पहिलो पटक आयोजना गरिएको हो ।

बीपीसी कलेजका विद्यार्थी तथा ह्याक्फेष्ट प्रतियोगिताका प्रोजेक्ट लिडर संगीत न्यौपानेका अनुसार पूर्व मेची देखि पश्चिम महाकालीसम्मका ४७ वटा स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीहरुले सहभागिताका लागि नाम दर्ता गराएका थिए । उनीहरु मध्य पहिलो चरणमा अनलाईन माध्यमबाट आयोजना गरिएको प्रतियोगितामा २० वटा टिम छनोट भएको र दोश्रो चरणको प्रतियोगितामा १० वटा समूह छनोट भएका छन् ।

उनै १० वटा समूहबीच अहिले प्रतिस्पर्धा गराईएको छ । अब तेश्रो चरणको प्रतियोगितामा ४८ घण्टासम्म लगातार कोडिङ गरेर शनिबार अन्तिम प्रतिस्पधाका विजेता घोषणा गर्ने तयारी रहेको टिम लिडर न्यौपानेले बताए । प्रतियोगिता सहभागी विद्यार्थीहरुले निर्माण गर्ने विभिन्न सफ्टवेयर प्रोग्रामहरु र प्रविधिको आधारमा उत्कृष्ट छनोट गरिने छ ।

प्रतियोगिताले नेपालभरीका विद्यार्थीहरुसँग भेट गराउने र नयाँ कुरा सिक्ने अवसर पाएको र यसले सञ्जालको विस्तारमा पनि सहयोग पुगेको बताउछन् प्रतियोगिताका सहभागी झापाका विद्यार्थी अच्युत चापागाईं । ह्याकाथुन प्रतियोगितामा आईटी अध्ययन गर्ने विद्यार्थीहरु मात्रै सहभागी हुन पाउने भन्दा पनि कम्प्युटरको ज्ञान र सीप भएको सबै विद्यार्थीहरुले प्रतियोगितामा भाग लिन सकिने र यसबाट आपूmले जानेका ज्ञान र सीप मात्रै नभई कसरी त्यसलाई ट्याकल गर्ने भन्ने विषयमा पनि जान्न पाईने कन्चनपुर महेन्द्रनगरकी लक्ष्मी कठायतले बताईन् ।

वीरगञ्जमा पहिलो पटक आयोजना भएको प्रतियोगिता भाग लिन पाउँदा निकै खुशी लागेको वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसको बीआईटी शंकायमा अध्ययनरत विद्यार्थी सुरभी निधि बताउछिन् । देशभरका आएका विद्यार्थीहरुसँगको भेटले एकअर्कामा सहयोग र सहकार्य गर्न पाउने माध्यम पाएको र यसबाट अझ धेरै सिक्ने अवसर पाएको बताईन् ।

अहिले सूचना प्रविधिको युग रहेको र विस्तारै देशलाई प्रविधिमैत्री बनाउने बाटोमा रहेकोले पनि यसको आवश्यकता र महत्व झन बढेको र युवाहरुको भविष्य पनि यसमा रहेको उनको भनाई छ । सूचना प्रविधिप्रति विद्यार्थीहरुको बढ्दो चाहना चासो र आवश्यकताको आधारमा बीपीसी कलेजले पनि विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने र देशलाई आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि सहयोग पुगोस भन्ने उद्देश्यले प्रतियोगिताको आयोजनामा सहयोग सहकार्य गरेको बीपीसी कलेजका क्याम्पस प्रमुख डाक्टर विनय श्रेष्ठले बताए ।


सम्बन्धित समाचार