Logo

५ फागुन,जनकपुर ।मधेश प्रदेशमा दुई समुदाय बीचको विवाद साम्य नहुँदा धार्मिक असहिष्णुता बढ्दै गएको छ ।

केही महिना अघि सर्लाहीको सदरमुकाम मलंगवामा दूर्गा पूजाको मुर्ति सेलाउने क्रममा दुई समुदाय बीचको विवादले उग्ररुप लिएपछि झडप हुँदा एकजना यूवाको मृत्यू भएको थियो भने प्रहरीसहित केही व्यक्तिहरु घाइते पनि थियो ।

सो घटनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले अनिश्चितकालिनसम्म कर्फ्यू लगाएर समाजिक तथा धार्मिक सहिष्णुता कायम गर्न स्थानीय प्रहरी प्रशासनसमेतको अगुवाईमा विभिन्न चरणमा वार्तासमेत गरेर समस्या समाधान गर्न सफल भएका थिए ।

करिब तीन महिना नबित्दै महोत्तरीमा कलश यात्राको क्रममा र रौतहटमा सरस्वती पूजा सम्पन्न भए पछि मुर्ति सेलाउने क्रममा मुस्लिम समुदायले विभिन्न बहाना देखाउँदै अड्चन खडा गरे पछि दुई समुदाय बीच झडप भएको छ । सो झडपको क्रममा रौतहटमा स्थानीय प्रशासनले कर्फ्यू जारी गर्नु परेको छ । भने महोत्तरीको सम्सीमा भएको झडपलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ ।

रौतहटको ईशनाथ नगरपालिकामा सरस्वतीको मूर्ति सेलाउन जाने बाटो अवरुद्ध गरेको २४ घण्टापछि कर्फ्यू जारी गरिएको छ । ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउन जाँदा शुक्रबार दिउँसोदेखि नै बाटो अवरुद्ध गरेको स्थानमा शनिबार साँझ दुई पक्ष बीच झडप भएको थियो ।

मूर्ति लैजाने विषयमा विवाद भएपछि शुक्रबारदेखि नै रौतहटका प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठको नेतृत्वमा नेपाल प्रहरीसंगै सशस्त्र प्रहरीसमेत परिचालन गरिएको छ । शनिबार भएको दोहरो झडपमा केही स्थानीयवासीलाई चोटपटक लागेपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्तासमेत रहेकी प्रहरी नायब उपरीक्षक एलिजा गिरीले साँझ ५ बजेदेखि लागु हुने गरी घिउरा गाउँ पूर्वमा जोकाहा गाउँ, पश्चिममा सानो घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरिएको जानकारी दिइन् ।

घिउरा गाउँका स्थानीयवासीले शुक्रबार सरस्वती माताको मूर्ति लिएर परम्परागतरुपमा वर्षौदेखि सेलाउँदै आएको गाउँ छेउको पोखरीमा जाने क्रममा मुस्लिम समुदायले ट्याक्टरमा डिजे बाजा बजाएको कारण बाटो अवरुद्ध गर्दै मुस्लिम समुदायले आरोप लगाएको छ ।

शुक्रबार दिउँसो दुई बजेदेखि मूर्ति सेलाउन जाने हिन्दु समुदायका स्थानीयवासीहरुलाई बाटोमै मूर्ति राखेर धर्नामा बसे पछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको रोहबरमा दुवै पक्षलाई राखेर मूर्ति सेलाउन दिने सहमतिसमेत भएको थियो ।

सरस्वतीको मूर्ति सेलाउन एउटा बाटोबाट लैजान र डिजे बाजा अर्को बाटोबाट लैजान दिने सर्त भएको थियो । तर सो सर्त विपरीत केही युवाहरूले ढुंगामुढा गरेपछि अवस्था तनावग्रस्त बनेको प्रवक्ता गिरीले बताइन् ।

त्यस्तै महोत्तरीको सम्सी गाउँपालिका वडा नम्बर २ स्थित महावीर झन्डा मेलाको अवसरमा निकालिएको कलश यात्राका क्रममा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको छ ।

ब्रह्मस्थान मन्दिरमा महावीर झन्डा मेलाकोे उद्घाटन अघि वडा नम्बर १ बाट कलश यात्रा निकालिएको थियो ।
सो कलश यात्रा मस्जिद भएको स्थानबाट जाँदै गर्दा मुस्लिम समुदायले जय श्रीरामको नाराबाजी नगर्न भन्दै अवरोध खडा गरे पछि झडप भएको कलश यात्रामा सहभागीहरुको भनाइ छ ।

झडप भएपछि स्थानीय प्रहरीले अवस्थालाई नियन्त्रणमा लिनका लागि चार राउण्ड हवाई फायरसमेत गरेका थिए ।
प्रहरीले हवाई फायर गरेपछि भागदौड हुँदा तीनजना घाइते भएको थियो । मुस्लिम समुदायले भने मस्जिदमा ढुंगामुढा गरेको आरोप लगाएका छन् ।

यता महोत्तरी प्रहरीले भने अवस्थालाई नियन्त्रणमा लिएपछि अवस्था सामान्य बनेको छ । अहिले सो क्षेत्रमा व्यापकरुपमा प्रहरी परिचालन गरिएको छ ।

 


सम्बन्धित समाचार