Logo

६ फागुन, काठमाडौं । सुन व्यवसायीहरुको छाता संस्था रत्न तथा आभुषण संघ र महासंघ भित्र सुनको कोटा दुरुपयोग गरी अवैध कारोवार गरेको भन्दै साना व्यवसायीले संघका पदाधिकारीको बैंक खाता तथा सम्पत्ती छानविनको माग गरेका छन् ।

रत्न तथा आभुषण संघ काठमाडौंका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले संघका पदाधिकारी र सदस्यहरु रहेको ह्वाटसएप ग्रुपमा संघका अध्यक्ष लगायत जिम्मेवार पदाधिकारी सुनको अवैध कारोवारमा संलग्न रहेको भन्दै प्रश्न उठाएपछि ग्रुपमा रहेका अन्य सदस्यहरुले समेत संघका पदाधिकारीहरुको कारोवार, बैंक खाता र सम्पतीको छानविन गर्नुपर्ने माग गरेका छन् ।

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको संचितिमा समस्या देखाउदै सुन आयातमा कोटा प्रणाली लगाएको छ । सोही कोटाको फाइदा उठाउँदै सुनको व्यवसाय सम्वन्धि विभिन्न संघ तथा महासंघका पदाधिकारीले वास्तविक खुद्रा व्यवसायीलाई सुन नदिई भरिया मार्फत भारत तर्फ तस्करी गरेको आरोप संघका सदस्यहरुले लगाएका छन् ।

बैकबाट लिएको सुन भरिया मार्फत भारततर्फ तस्करी गराउने तर बजारमा अवैध रुपमा आएको गुणस्तरहिन सुन विक्रि वितरण हुदै आएको भन्दै सुनचाँदी व्यवसायी संघका सदस्यहरुले संघ र महासंघका पदाधिकारी माथि सरकारले छानविन गर्नुपर्ने माग गरेका छन् ।

व्यवसायी ऋषी ठाकुरले बाणिज्य बैंकमा स्टकमा रहेको सुन कुन व्यापारीले एकै पटक खरिद गरी उक्त सुन कुन कुन व्यवसायीलाई बेचेको हो त्यसको विवरण सदस्यहरुलाई उपलब्ध गराउन माग गरेका छन् । संघका पदाधिकारीले बैंकका कर्मचारीलाई प्रलोभनमा पारी सुन स्टकमा राख्न लगाई १५ दिनको भ्याद पछि एकै पटक खरिद गर्ने गरेको आरोप सदस्यहरुको छ ।

सुन व्यवसायीको विवादमा गृह मन्त्रालयको चासो

सुन व्यवसायीहरुको आन्तरिक विवादमा उठेका प्रश्नले सुनचाँदीको कारोवार गर्ने व्यवसायीहरुको संस्थामा नेतृत्व गर्ने पदाधिकारीमाथि छानविन गरिने गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले सुनचाँदीको कारोवारमा संलग्न पदाधिकारीका बारेमा सार्वजनिक भएका समाचार प्रति मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको बताउनु भएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल लगायत चिनसँग सीमा जोडिएका नाकाबाट अवैध रुपमा सुन भित्रिने गरेको तथ्य सरकारसँग छ । त्यसमा राजश्व अनुसन्धान विभाग र नेपाल प्रहरीले समेत विभिन्न समयमा सुन सहित त्यसको कारोवारमा संलग्न व्यक्तिलाई पक्राउगरी अनुसन्धान गरिहेको अवस्थामा सुनचाँदीको कारोवार गर्ने व्यवसायीहरुले नै संघका पदाधिकारीहरुले अवैध कारोवारमा संलग्न रहेको भन्दै आवाज उठाएपछि सरकारले त्यस विषयलाई गम्भिर रुपमा लिएको गृह प्रवक्ता भट्टराईले बताउनु भयो ।

रत्न तथा आभूषण व्यवसायी संघ काठमाडौंका बरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले सुन कारोवारमा संघका पदाधिकारीको बदमासी र उनहरुले जिल्लाका व्यवसायीको सुन बैंकसँगको मिलिमतोमा खरिदगरी अवैध रुपमा भारत तस्करी गर्दै आइरहेको बिषयलाई अर्को हप्ता नेपाल आएर पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने बताएका छन् ।

नेपाल राष्ट्र बैंकको गभर्नरको भूमिका संकास्पद

नेपाल राष्ट्र बैंकले सुनचाँदीको प्रचलित मूल्य तोक्ने अधिकार सुनचाँदी व्यवसायीहरुको संस्थालाई दिएकोमा खुद्रा व्यवसायीले आपत्ति प्रकट गरेका छन् । नेपाल राष्ट्र बैंकले तोक्नु पर्ने मूल्य व्यवसायीलाई निर्धारण गर्न दिदाँ सुनमा अवैध कारोवार मौलाएको साना व्यवसायीको भनाई छ ।

संघका पदाधिकारीले सुन आफ्नो पोल्टामा पार्न मूल्य निर्धारण गर्दा साना व्यवसायीले किन्न नसक्नेगरी दररेट राख्ने गरेको व्यवसायीहरुको भनाई छ । बैंकले कोटा तोकेर विक्रिको लागि १५ दिनको हदम्याद दिने गरेको छ । बैंकको म्याद भित्र कुनै व्यवसायीले उठाउन नसक्ने अवस्थामा स्टकमा रहेको सुन बैंकले खुल्ला रुपमा विक्रि गर्न पाउने व्यवस्था नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशिकामा छ ।

विभिन्न बैंकको टेजरी डिपान्टमेन्टका कर्मचारीसँग मिलेमतोगरी संघका पदाधिकारीले स्टकमा रहेको सुन एकैपटक उठाउने गरेको र उक्त सुन भरिया मार्फत भारत तस्करी हुनेगरेको आरोप व्यवसायीहरुको छ ।

साना व्यवसायीले सुनको मूल्य निर्धारणको जिम्मा संघका पदाधिकारीलाई नदिन पटक पटक आग्रह गर्दा समेत नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी र डेपुटी गभर्नर बोम बहादुर मिश्रले कुनै सुनुवाई नगरेको साना व्यवसायीहरुको भनाई छ । संघका पदाधिकारीको मिलेमतोमा राष्ट्र बैंकका उच्च तहका पदाधिकारीको संलग्न रहेको आशंका खुद्रा व्यवसायीहरुको छ ।

सम्पती छानविन किन ?

सुनचाँदीको खुद्रा कारोवार गर्ने व्यवसायीहरुले संघका पदाधिकारीको सम्पती छानविन गर्नुपर्ने माग गरेका छन् । बैंकबाट लिएको सुन ७७ वटा जिल्लामा वितरण गर्नेकाम संघका पदाधिकारीको हो । तर जिल्लामा जाने सुन व्यवसायीले किन्न नसक्ने अवस्था सृजनागरी संघ र महासंघका पदाधिकारीले एकलौटी रुपमा उठाउने गरेको भनाई साना व्यवसायीको छ ।

सुनमा कोटा प्रणाली लागु भएपछि संघका पदाधिकारी मोटाउदै जाने तर बास्तविक व्यवसायी मर्कामा पर्ने गरेको भन्दै संघका सदस्यहरुले पदाधिकारीको ५ बर्ष अघिको हैसियत र अहिलेको उनीहरुसँग भएको सम्पतीको स्रोत बास्तविक व्यापारबाट खुल्न नसक्ने भन्दै छानविनको माग गरिएको एक व्यवसायीले बताए ।

नेपालमा सुनचाँदीको कारोवार गर्ने विभिन्न संघ र ५ वटा महासंघ छन् । जसमा नेपाल रत्न तथा आभूषण महासंघ, नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल कला व्यवसायी महासंघ, नेपाल हस्तकला महासंघ र नेपाल पत्थर महासंघ रहेको व्यवसायीहरुको भनाई छ ।

व्यवसायीको नाउँमा कोटा खानको लागि खोलिएका विभिन्न महासंघका पदाधिकारीले साना व्यवसायीलाई मर्कामा पार्दै आइरहेको गुनासो उनीहरुको छ । रत्न तथा आभूषण संघ काठमाडौंका बरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले १० बर्ष देखिनै सुनमा पदाधिकारीले अवैध धन्दा चलाउदै आएको बताएका छन् । उनले सरकारले सुनचाँदीका कारोवार गर्ने व्यवसायीका संघ र महासंघको पदाधिकारी र उनीहरु संलग्न कम्पनीहरुको छानविन गरे त्यसमा आफूले सहयोग गर्ने गुप्ताले बताए ।

रत्न तथा आभूषण संघ काठमाडौंमा यसअघि जोसना श्रेष्ठ अध्यक्ष रहनु भएको थियो । उहाँका श्रीमान् सुरेशमान श्रेष्ठ रत्न तथा आभूषण महासंघको केन्द्रीय अध्यक्ष हुनुहुन्छ । व्यवसायीहरुको भनाई अनुसार सुनमा सवैभन्दा बढी बेथिति जोसना र सुरेशमानको समयमा भएको हो । त्यसको पनि छानविन हुनु पर्दछ ।

खुद्रा व्यवसायीहरुले काठमाडौंका सुरेशमान श्रेष्ठ, मणिरत्न शाक्य, निर्मल तुलाधर, सुमन ताम्राकार, पवन सोमानी, अभिषेक सरावगी, पवन घरानीया वीरगञ्जका राजु दारुका, उनका छोरा अमित दारुका, पर्सा सुनचाँदी व्यवसायी संघका अध्यक्ष समेत रहेका न्यू अभिषेक ज्वेयलर्सका संचालक भूलन सोनारको कारोवार र सम्पती छानविन गर्नुपर्नेमाग व्यवसायीहरुको छ ।


सम्बन्धित समाचार