Logo

८ फागुन,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबार बिहान चार घण्टाका लागि खुला गरिएको कर्फ्यु पुनः लागू भएको छ । हिजो दिउँसो झडपको स्थिति सृजना भएपछि संभावित दुर्घटना रोक्न हिजो बेलुकी पाँच बजेदेखि अनिश्चित कालका लागि कर्फ्यु आदेश जारी गरेको थियो ।

सर्वसाधारणको सहजताका लागि आज बिहान ६ बजेदेखि १० बजेसम्मका लागि खुला गरिएको कर्फ्यु आदेश पुनः यथावत रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । स्थानीय सर्वसाधारणको दैनिकीलाई प्रभाव नपरोस भनेर आज बिहान ६ बजेदेखि १० बजेसम्मका लागि खुला गरिएको कर्फ्यु पुनः स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु लागू भएको जनाएको छ ।

हिजो हिन्दु समाजले बजार बन्दको आह्वान गरेको थियो । प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति सृजना भएपछि स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी गरेको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम जारी गरेको कर्फ्यु आदेशमा पूर्वमा नगवा चोक (बारा जिल्ला सिमाना), पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरीपुल (भन्सार क्षेत्र) भित्र कफ्र्यू जारी भएको छ ।

कर्फ्यु आदेश जारी जारी गरिएको क्षेत्र भित्र कसैले आवतजावत गर्न, भेला हुन, बाहिर हिडडुँल गर्न, जुलुश प्रदर्शन गर्न, घेराउ –याली गर्न एवम् अन्य कुनै प्रकारका उच्छृङखल गतिविधि गर्न नपाउने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

कोही कसैले आदेशको पालना नगरे कानुन बमोजिम कडा कारवाही गरिने जिल्ला प्रशासन पर्साले सूचनामार्फत जनाएको छ । अतिआवश्यक काम भएकाहरुले सम्बन्धित पहिचान खुल्ने कागजात लिएर स्थानीय सुरक्षा अधिकारीहरुको समन्वयमा मात्रै हिड्न पाउने सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताए ।


सम्बन्धित समाचार