Logo

८ फागुन,ठोरी । पर्साको ठोरी गाउँपालिका –५ मा मङ्गलबार पर्सा सिकाइ मेला सम्पन्न भएको छ । टिच फर नेपाल पर्साका प्रज्ञार्थीहरूको आयोजना एवम् ज्ञानवाटिका मावि सुवर्णपुरको संयोजनमा सोही विद्यालयमा आयोजित सिकाई मेलामा पर्साका ५ ओटा सामुदायिक माध्यमिक विद्यालयको सहभागिता थियो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि ठोरी गापाकी उपाध्यक्ष गोकुली रेग्मीले सिकाई मेलाले विद्यार्थीको प्रतिभा प्रष्फुटन गर्न सहयोग गर्ने विचार व्यक्त गर्नुभयो । सिकाई मेलामा अभिभावकको सहभागिता कम भएकोमा चिन्ता व्यक्त गर्दै उहाँले यस्ता सृजनात्मक कार्यक्रमहरुमा अन्य विद्यालयहरुलाई पनि सहभागी गराउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा ठोरी –५ का पुर्व वडाध्यक्ष राम बहादुर पाख्रीन , जीराभवानी गापा –१ का वडाध्यक्ष रामशरण खवास , नेपाल शिक्षक महासंघ ठोरीका अध्यक्ष अमृत श्रेष्ठ लगायतले सिकाई मेलाको प्रभावकारिताका बारेमा चर्चा गर्नुभएको थियो ।

मेलामा १ सय भन्दा धेरै विद्यार्थीले विभिन्न स्टलमा विभिन्न क्षेत्रसंग सम्बन्धित नमुना सामाग्रीहरु प्रस्तुत गरेका थिए । यस्तै मेलामा सहभागी विद्यार्थीले विभिन्न पालिकाको नमुना जनप्रतिनिधिको रुपमा विज्ञान र गणित विषय अङ्ग्रेजी भाषामा पढाउनुपर्ने सन्दर्भमा पक्ष र विपक्षमा बहस समेत गरेका थिए ।

सो अवसमा आफैले निर्माण गरेको विज्ञान तथा प्रविधि , स्वास्थ्य , पर्यटन , स्थानीय प्रविधि , गणित एवम् व्यवसायसँग सम्बन्धित विभिन्न नमुना सामाग्रीहरु विद्यार्थीले प्रदर्शन गरेका हुन्। मेलामा टिच फर नेपालको उपस्थिति रहेको आयोजक विद्यालय ज्ञानवाटिका मावि , ठोरी –४ को मावि विजयवस्ती , जीराभवानी गापा –२ मा रहेको नेरामावि सेढवाका विद्यार्थीको सहभागिता थियो ।

यस्तै पटेर्वा सुगौली गापा –५ मा रहेको नेरामावि निचुडा र सखुवा प्रसौनी गापा –२ मा रहेको दीपनारायण आदर्श नमुना माविका विद्यार्थीले पनि सो कार्यक्रमा विभिन्न नमुनाहरु प्रदर्शन गरेका थिए ।

 


सम्बन्धित समाचार