Logo

१२ फागुन, काठमाडौं । साना व्यवसायीको सुनको कोटा दुरुपयोग भएको भन्दै सार्वजनिक रुपमा विरोध जनाएका रत्न तथा आभुषण संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले शान्ति सुरक्षाको माग राखी स्थानीय प्रशासनमा उजुरी दर्ता गराएका छन् ।

रत्न तथा आभुषण संघका अध्यक्ष सुमनमान ताम्रकार सुनको अवैध कारोवारमा संलग्न रहेकोले नैतिक रुपमा संघको नेतृत्व छोड्न वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले माग गरेका थिए । उनले संघका सदस्यहरु रहेको ह्वाट्सएप ग्रुप च्याटमा अध्यक्ष ताम्रकारले साना व्यवसायीको सुनको कोटा दुरुपयोग गरी अवैध कारोवारमा लागेको गुप्ताले आरोप लगाएका थिए ।

ह्वाट्सएप ग्रुपमा राखिएको सूचना केही सञ्चार माध्यममा पु¥याएको भन्दैे वरिष्ठ उपाध्यक्ष गुप्तालाई वाहिरी व्यक्ति प्रयोगगरी डर, त्रास देखाउने र धम्काउने कार्य भएको छ । सो कार्यमा संघका अध्यक्ष सुमन ताम्रकार र नेपाल रत्न तथा आभुषण महासंघका अध्यक्ष सुरेशमान श्रेष्ठ प्रत्यक्ष रुपमा लागेको भनि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा शुक्रबार गुप्ताले शान्तिसुरक्षाको निवेदन दर्ता गराएका छन् ।

संघका वरिष्ठ उपाध्यक्ष गुप्ताले संघका अध्यक्ष ताम्रकारले संस्थाको विधान र प्रचलित ऐन कानूनको विपरित गरेका कामको आफूले संघ भित्र खुलेर विरोध गरेको पत्रमा उल्लेख गरिएको छ । सुनको अवैध कारोवार र कोटाको सुन स्टकमा राख्ने वातावारण सृजनागरी भरियाको नाउँमा खोलेका कम्पनी मार्फत खरिद गरेको बिषयमा छलफल गर्न कार्यसमितिको बैठक राख्न पटक पटक माग गरेको गुप्ताले प्रशासन कार्यालयमा दर्ता गरेको पत्रमा उल्लेख छ ।

आफूले संघ भित्र भएको बेथिति र अवैध कारोवारको बारेमा संघका सदस्यहरु रहेको ह्वाट्सएप ग्रुपमा उठाउदै आएको बिषयलाई लिएर संघका अध्यक्ष ताम्रकार र महासंघका अध्यक्ष सुरेशमान श्रेष्ठले नचिनेका मानिसहरु आफ्नो पसलमा पठाई त्यहाँ कार्यरत कर्मचारी र कामदारलाई समेत धम्काउने काम भएको गुप्ताले पत्रमा उल्लेख गरेका छन् ।

गुप्ताले ह्वाट्सएप ग्रुपमा उठाएको बिषयलाई रेसखवर अनलाईन पत्रिकामा समाचार प्रकाशन भएको भनि त्यसमा समेत आफूलाई जोडेर नेपाल रत्न तथा आभुषण महासंघका महासचिव किसन सुनुवारले धम्कीको भाषा प्रयोगगरी फागुन फागुन २७ गते बैठकमा उपस्थित हुन पत्रकाटेको स्थानीय प्रशासनमा दर्ता गरेको पत्रमा उल्लेख गरिएको छ ।

संघको बैठकमा के भयो ?

सुनको कोटा दुरुपयोग गरी अवैध कारोवारमा संघका जिम्मेवार पदाधिकारी संलग्न रहेको बिषयलाई लिएर संघले फागुन ११ गते उपस्थित हुन पत्र काटेपछि संघका वरिष्ठ उपाध्यक्ष गुप्ता जवाफ दिन भारतको कार्यक्रम विचैमा छोडेर नेपाल आएका थिए ।

गुप्तालाई दिनको ठिक २.३० बजे नयाँ सडक स्थित संघको कार्यालयमा उपस्थित हुन भनिएको थियो । उनी तोकिएको समयमा उपस्थित भएपनि संघका पूर्व अध्यक्ष जोसना श्रेष्ठ ढिलो आएकोले बैठक २.४६ बजे शुरु भएको थियो । बैठक शुरु हुन थालेपछि वरिष्ठ उपाध्यक्ष गुप्ताले संघका अध्यक्ष सुनको अवैध कारोवारमा आरोपित भएकोले सुमन ताम्रकारले अध्यक्षता गर्न नहुने अडान राखेका थिए ।

संघका पूर्व अध्यक्षहरुले सुमनले नै अध्यक्षता गर्ने बताएपछि गुप्ताले आफूमाथि लगाइएको आरोपको जवाफ दिएका थिए । आफू अस्वस्थ भएपनि संस्थाको मर्यादालाई ख्याल गरेर बैठकमा उपस्थित भएको गुप्ताले बताए ।

वरिष्ठ उपाध्यक्ष गुप्ताले संघका अध्यक्ष लगायतका व्यक्तिको कारण आभुषण व्यवसायमा संकट उत्पन्न भएको जवाफ दिएका थिए । उनले सुनको कोटा वितरणमा पारदर्शीता नभएको, साना तथा मझौला व्यवसायीले कोटाको सुन पाउँन नसक्दा व्यापार गर्न अप्ठारो परिस्थिती देखिएको बिषय राखेका थिए ।

गुप्ताले आफूमाथि लागेको आरोप बैठकमा स्पष्ट राखेपछि कार्यसमितिले नै यस बिषयमा निर्णय लिन अनुरोध गरेका थिए । आफू स्वास्थ समस्यका कारण लामो समय बैठकमा वस्न नसक्ने जनाउदै कुनै बिषयमा थप जानकारी दिनुपर्ने भए खवर गर्नु होला भन्दै बैठकबाट बाहिरिएका थिए ।

बैठकमा संघ र महासंघका गरि २२ जनाको उपस्थिती रहेको थियो । बैठकमा अध्यक्ष सुमन ताम्रकार, महासंघका अध्यक्ष सुरेशमान श्रेष्ठ, संघका निवर्तमान अध्यक्ष जोसना श्रेष्ठ लगायतका केही पदाधिकारीहरुले गुप्ताको अभिव्यक्ति चित्तबुझ्दो नभएकोले कानून व्यवसायीको राय लिएर उनलाई संस्थाबाट कार्वाही गर्नुपर्ने धारणा राखेका थिए ।

बैठकमा लामो छलफल र बहश भएपनि निर्णय भने केही हुन नसकेको महासचिव जयराम पाण्डेयले बताए । संघले सोधेको प्रश्नको जवाफ दिएर वरिष्ठ उपाध्यक्ष गुप्ता बैठक हलबाट बाहिरिनु भयो, महासचिव पाण्डेयले भने । उक्त बिषय छलफलमा रहेकोले शुक्रबार कुनै निर्णय नभएको पाण्डेयको भनाई छ ।


सम्बन्धित समाचार