Logo

फाइल फोटो

१३ फागुन, बारा । आज देखि जीतपुरसिमरा उपमहानगरपालिकासँगै बारा जिल्लामा दादुरा–रुबेलाविरुद्धको खोप अभियान सुरु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकामा १३ गते देखि १७ गते सम्म चल्ने यो अभियानमा करिब ४० हजार बालबालिकालाई दादुरा रुबेला बिरुधको खोप लगाउँने योजना उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख रबि भाष्करले जानकारी दिनुभयो । उपमहानगरपालिकाको २४ वटा वडाको २५ ठाउँमा खोप लगाउँने कार्य भईरहेको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ । अभियान भरी उपमहानगरमा ७५ जना स्वास्थ्यकर्मी र १ सय ३७ जना स्वयंसेविका परिचालन गरिरहेको छ ।

सरकारको राष्ट्रिय खोप कार्यक्रम अनुसार जनस्वास्थ्य कार्यालय बाराले फागुन १३ देखि चैत ८ गतेसम्म अभियान सञ्चालन गर्न लागेको हो । जनस्वास्थ्य कार्यालयले खोप अभियान सञ्चालनको तयारी अघि बढाएको छ । बारामा ९ महिना देखि १५ बर्ष उमेर समुहका २ लाख ३० हजार ३ सय १४ जना बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाउने लक्ष्य अनुसार तयारी भएको स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादबले बताउनु भयो ।

जिल्ला भरी ८ सय ७६ खोप केन्द्र स्थापना गरि २ हजार १४ जना स्वास्थ्यकर्मी र २ हजार १४ जना स्वयंसेवक खटाइने उहाँले जानकारी दिनुभयो । जनस्वास्थ्य कार्यालय बाराका प्रमुख यादबले दादुरा रुबेला विरुद्धको खोप अभियान कार्यक्रम निर्देशिका अनुसार तयारी थालिएको बताउनुभयो । उहाँले अभियानलाई तीन चरणमा बाँडिएको बताउँदै पहिलो चरणमा फागुन १३ गते देखि १७ गतेसम्म जीतपुरसिमरा उपमहानगरपालिका, प्रसौनी गाउँपालिका, परवानीपुर गाउँपालिका, बिश्रामपुर गाउँपालिका, फेटा गाउँपालिका र कलैया उपमहानगरपालिकामा खोप लगाइने जानकारी दिनुभयो । यसैगरी दोस्रो चरण अन्तर्गत फागुन २० गतेदेखि २४ गतेसम्म निजगढ नगरपालिका,कोल्हबी नगरपालिका,महागढीमाई नगरपालिका,करैयामाई गाउँपालिका र बारागढी गाउँपालिकामा खोप अभियान सञ्चालन हुने उहाँले बताउनुभयो ।

यस्तै तेस्रो चरणको कार्यक्रम अन्तर्गत चैत्र ४ गते देखि ८ गते सम्म सिम्रौनगढ नगरपालिका, पचरौता नगरपालिका आर्दश कोतवाल गाउँपालिका,सुवर्ण गाउँपालिका र देवताल गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने जानकारी दिनुभयो । जनस्वास्थ्य कार्यालय बाराका प्रमुख यादबले यो खोप अभियान सफल पार्न सबैलाई आग्रह गर्नुभएको छ । उहाँले कुनैपनि बालबालिका नछुट्ने गरी काम गर्न पनि निर्देशन दिनुभएको छ ।

दादुरा–रुबेला खोप अभियानमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरुलाई यो खोप लगाइने छ । तराई मधेशका २१ जिल्ला र काठमाडौं उपत्यकाका ३ जिल्लाहरुमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई लगाइने छ । बाँकी जिल्लाहरुमा भने ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुलाई लगाइनेछ ।रुकुमपश्चिम र जाजरकोटमा भने यो खोप अभियान सम्पन्न भइसकेको छ । ।सरकारले सन् २०२६ सम्म दादुरा रुबेला रोगलाई निवारण गर्ने लक्ष्य लिएको छ । सन् २०१३ मा पहिलो पटक दादुरासँगै रुबेला विरुद्धको खोप लगाइएको थियो । दादुरा र रुबेला दुवै भाइरसबाट बालबालिकामा सर्ने सरुवा रोग हुन् ।


सम्बन्धित समाचार