१७ फागुन,काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि लेबनानका राजदुत भेरोनिक लोरेन्जोबीच बुधबार गृह मन्त्रालयमा शिष्टाचार भेट भएको छ।
भारत र नेपाल समेतका लागि लेबनानका राजदूत लोरेन्जोले यो आफ्नो कार्यकालको चौथो नेपाल भ्रमण रहेको र हरेक पटकको भ्रमणले आफू निकै उत्साहित भएको बताउनुभयो।
नेपाल र लेबनानबीच सन् १९६३ मा दौत्य सम्बन्ध कायम रहेको र हालसम्म यो सुमधुर रहेकोमा उहाँले खुशी व्यक्त गर्नुभयो। विभिन्न अन्तराष्ट्रिय मामिलामा नेपाल र लेबनान एकै स्थानमा उभिएको दृष्तान्त समेत उहाँले दिनुभयो।
नेपालका सेनाले लेबनानमा शान्ति कायम गर्न पु¥याएको योगदानप्रति उहाँले आभार व्यक्त गर्नु भयो। उहाँले नेपालीले लेबनानमा लगानी गर्नसक्ने सुविधा रहेको समेत जानकारी गराउनुभयो। नेपालको सुरक्षा संयन्त्र अब्बल रहेको र नेपालीको प्रवृत्ति शान्त रहेकोमा उहाँले प्रशंसा गर्नुभयो।
भेटमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले लेबनानले आवश्यक ठाने थप शान्ति सेनाको प्रबन्ध गर्न सकिने जानकारी दिनुभयो। लेबनानको जस्तै नेपालको उद्देश्य पनि आर्थिक र समन्यायिक सामाजिक रुपान्तरण रहेको र त्यसका लागि लेबनानबाट आउने वैदेशिक लगानीलाई प्रोत्साहन गरिने जानकारी उहाँले गराउनुभयो।
उपप्रधानमन्त्री श्रेष्ठले ६० वर्षभन्दा लामो आपसी सम्बन्धलाई अझै प्रगाढ बनाउँदै लैजानुपर्ने बताउँदै लेबनान र लेबनानी जनताको शान्ति तथा समृद्धिको लागि विशेष शुभकामना दिनुभयो।