Logo

१८ फागुन,भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ “हब”को रूपमा विकास हुँदै गएको बताउनुभएको छ ।

शुक्रबार बिहान चितवनको भरतपुरमा निर्मित भरतपुर आँखा अस्पतालको नयाँ भवनको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्रीले सो कुरा बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, “भरतपुर आँखा अस्पताल भरतपुर क्षेत्रको मात्र आँखा अस्पताल नभएर स्वदेश तथा विदेशका समेत सेवाग्राहीहरूको आँखा सम्बन्धी उपचारको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ ।”
प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
वि.सं. २०४४ सालमा स्थापित भई आँखाको उपचारका साथै अध्ययन, अध्यापन र व्यवसायिक तालिमका क्षेत्रमा विशिष्टिकृत योगदान पु¥याउँदै आएको आँखा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्न पाउँदा मलाई खुसी लागेको छ । यसका निम्ति अस्पताल समिति, कर्मचारीहरू एवम् अस्पताल परिवारमा हार्दिक बधाइसहित धन्यवाद ज्ञापन गर्दछु ।

भरतपुर आँखा अस्पताल भरतपुर क्षेत्रको मात्र आँखा अस्पताल नभएर स्वदेश तथा विदेशका समेत सेवाग्राहीहरूको आँखा सम्बन्धी उपचारको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । नेपालका साथै छिमेकी मित्रराष्ट्र भारतबाट समेत यस अस्पतालमा सेवा लिने सेवाग्राहीहरूको उल्लेख्य सङ्ख्या रहनुले पनि अस्पतालको महत्त्व र सेवा प्रवाहको गुणस्तर प्रमाणित हुन्छ ।

यस अस्पतालको स्थापना एवम् विकासका निम्ति चितवन जिल्ला र यस आसपासको क्षेत्रका सामाजिक व्यक्तित्वहरूको विशिष्ट योगदान रहँदै आएको छ । नेपाल सरकार, सामाजिक क्षेत्र र सामाजिक व्यक्तित्वहरूको साझा पहल र सक्रियताकै कारण अस्पतालले आँखा रोगसम्बन्धी विशेषज्ञ सेवा र अस्पतालको विश्वसनियतामा समेत बढोत्तरी हुँदै गएको छ । यो हामी सबैका निम्ति खुसीको कुरा हो ।

विभिन्न दातृ निकाय, संघसंस्था, भरतपुर महानगरपालिका लगायत राज्यका विभिन्न निकाय र जनसमुदायको लगानीमा नयाँ भवन निर्माण भएको छ । नवनिर्मित भवनको उद्घाटनपछि बालरोग बहिरंग सेवा, बालबालिकाका लागि अलग्गै टिकट काउन्टर, ओपिडी कक्षमा विस्तार, फार्मेसी कक्ष, चश्मा बिक्री कक्ष, बालमैत्री खेल कक्ष, स्टाफ कन्फरेन्स हल र स्तनपान कक्षको व्यवस्थापन हुने जानकारी पाउँदा म उत्साहित भएको छ । नवनिर्मित भवनको उद्घाटनपछि अस्पतालले दिने सेवाको मात्रा र गुण दुबैमा गुणात्मक सुधार हुने मैले विश्वास लिएको छु ।

नयाँ भवन सञ्चालनमा आएपश्चात भौतिक सुविधाको दृष्टिले अस्पताल सबल र सुविधासम्पन्न हुनेछ । तसर्थ, भौतिक संरचनाको विकाससँगै अस्पतालले दिने सेवा, अनुसन्धान र स्वास्थ्य तालीमहरूमा पनि सोहीस्तरमा क्षमता अभिवृद्धि गर्न आवश्यक रहन्छ । यसका निम्ति भविष्यमा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग र सहजीकरण हुने नै छ ।

मेरो नेतृत्वको वर्तमान सरकार संविधानप्रदत्त “स्वास्थ्य सम्बन्धी हक”लाई व्यवहारमा कार्यान्वयन गर्न निरन्तर क्रियाशील रहँदै आएको छ । स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, देशभरिका सबै अस्पतालमा १० प्रतिशत शय्या गरिब, विपन्न र असहाय नागरिकका लागि निःशुल्क उपलब्ध गराउने व्यवस्था, महिलाहरूमा देखापर्ने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप निःशुल्क उपलब्ध गराउने व्यवस्था, स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षाका कार्यक्रम, बिपन्न बिरामीहरूका लागि अनुदानको व्यवस्था लगायत महत्त्वपूर्ण निर्णयहरू भई कार्यान्वयनमा आएका छन् । अर्कोतर्फ संविधानअनुरूप निर्माण गरिनुपर्ने ऐनहरूको तर्जुमाका निम्ति नेपाल सरकारले गम्भीर पहल लिइरहेको छ । यी सबै प्रयासहरूले स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण सुधार हुने मैले विश्वास लिएको छु ।

अन्त्यमा, नवनिर्मित भवनको उद्घाटनपश्चात आँखा सम्बन्धी रोगको उपचार, अध्ययन, अध्यापन र व्यवसायिक तालीममा थप प्रगति हुने विश्वास व्यक्त गर्दै भवन निर्माणमा सहयोग गर्नुहुने समस्त दातृ निकाय, भरतपुर महानगरपालिका, सामाजिक संघसंस्था एवम् सामाजिक व्यक्तित्वहरूमा फेरि एकपटक धन्यवाद व्यक्त गर्दै विदा हुन्छु ।

 


सम्बन्धित समाचार