![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2024/03/429783125_1589277061817508_8302726973441737204_n.jpg?fit=1080%2C609&ssl=1)
१८ फागुन,जनकपुर । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले गठबन्धनको सरकार बनेपछि मुलुकको विकास र समृद्धि तर्फको कामकारबाही सुस्तढंगले अगाडि बढिरहेको बताएको छ ।
जनकपुर विमानस्थलमा शुक्रबार संचारकर्मीहरुसँग कुराकानी गर्दै महासचिव पोखरेलले एमालेको सरकारले मुलुकको विकास निर्माण र समृद्धिको यात्राले तिव्रता पाएको स्मरण गर्दै उनले अहिलेको गठबन्धन सरकारमा भ्रष्टाचार, अनियमितता, अराजकता मौलाउदै गएको आरोपसमेत लगाए ।
महासचिव पोखरेलले अहिलेको सरकारले आन्तरिक स्रोतबाट शिक्षक र कर्मचारीलाई समेत तलब खुउवाने अवस्थामा नरहँदा यही सरकारका कारण भविष्यमा मुलुक कमजोर बन्ने सम्भावना बनिरहेको प्रति चिन्तासमेत व्यक्त गरे ।
गठबन्धन सरकार पूर्णरुपमा असक्षम र असफल सावित भइसकेको महासचिव पोखरेलले बताए ।
उनले पुँजीगत खर्च इतिहासकै कमजोर अवस्थामा पुगेको र पुँजीगत खर्च भविष्यमा देश कस्तो बन्ला भन्नेकुराको आधार भएको बताए ।
उनले सुशासनमा सरकार असफल र निकम्मा भएकै कारण अनुसन्धानका लागि मन्त्रीहरु झण्डा हल्लाएर अख्तियार धाउनु परेको अवस्था रहेको बताए ।
महासचिव पोखरेलले भने, ‘सामान्यतया अभियोग लागेपछि र अनुसन्धानको प्रक्रिया सुरु भएपछि पदमा बसिरहन मिल्दैन । तर सरकार स्वयम् आफैँले अनुसन्धान गर्दा मन्त्री दोषी किटान हुन्छ हुँदा पनि राजीनामा आउँदैन ।’
सरकारले सुशासनको हल्ला गरे पनि दोषी मान्छेहरुलाई जोगाइरहेको उनले आरोप लगाए ।