Logo

२१ फागुन, काठमाडौं । नेपाल रत्न तथा आभुषण संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले संघका पदाधिकारी सुन तस्करीमा संलग्न रहेको भन्दै प्रहरी कार्यालयमा दिएको उजुरीमाथि हाल सम्म कुनै कार्वाही नभएपछि सुन व्यवसायीहरु रुष्ट बनेका छन् ।

संघका वरिष्ठ उपाध्यक्षले कार्यसमितिका अध्यक्ष लगायत पूर्व पदाधिकारीहरुले ‘फर्जी कम्पनी दर्ता गरेर सुनको कोटा दुरुपयोग गरी अवैध कारोवार गरेको भन्दै काठमाडौं उपत्यका अपराध कार्यालयमा गत फागुन १० गते ठाडो उजुरी दर्ता गरेका थिए ।

संघकै जिम्मेवार पदाधिकारीले कार्यसमितिका अध्यक्ष सुमनमान ताम्रकार र उपाध्यक्ष निर्मल तुलाधर लगायतका पदाधिकारीले भरियाको नाउँमा फर्जि कम्पनी खोलेर साना तथा खुद्रा व्यवसायीको सुनको कोटा कब्जा गरि भारत तर्फ अवैध मार्गबाट आएको सुन समेत मिलाएर तस्करी गरेको आरोप लगाएका छन् ।

उपत्यका प्रहरी अपराध कार्यालय काठमाडौंका प्रहरी प्रवक्ता, प्रहरी उपरिक्षक रविन्द्र रेग्मीले गुप्ताले दिएको ठाडो उजुरीमा सुनको अवैध कारोवार हुने गरेको भनिएपनि कहाँ, कहिले र कसरी भइरहेको भन्ने तथ्य नखुलेकोले अनुसन्धान कार्यमा ढिलाई भएको बताए ।

व्यवसायीको कोटा दुरुपयोग भएको र फर्जि कम्पनी मार्फत स्टकमा रहेको सुन किनेर भारत तर्फ तस्करी गरेको कुरा उजुरीमा छ, एसपी रेग्मीले भने “कुन व्यक्तिले कुन कम्पनी मार्फत कसरी सुन लिए र त्यो भारत तर्फ कहिले तस्करी गरे भन्ने एकिन नभएपछि अनुसन्धानमा ठोस आधार नदिएको हो ।”

यता खुद्रा तथा साना सुन व्यवसायीले संघका वरिष्ठ उपाध्यक्ष गुप्ताले दिएको सुचनालाई प्रहरीले गम्भिर रुपमा लिन नसक्नु दुखद भएको बताएका छन् । सरकारले सुन तस्करी विरुद्ध चलाएको अपरेशनलाई सहयोग पुग्नेगरी गुप्ताले सुचना दिएको व्यवसायीहरुको भनाई छ ।

संघले विगत ५ बर्ष देखि वितरण गरेको सुनको कोटाको रेकर्ड नेपाल रत्न तथा आभुषण महासंघमा सुरक्षित रहेकोले कोटा दुरुपयोगको आधार त्यहाँबाट लिन सकिने संघका पदाधिकारीको भनाई छ । गम्भिर बिषयमा किटानी उजुरी परेको छ, प्रहरीले किन उजुरी परेको हो भनेर सामान्य जानकारी समेत लिन चाहदैन, एक व्यवसायीले भने “यसले सुन तस्करीको नेटवर्क उच्च तह सम्म छ भन्ने प्रष्ट हुन्छ ।”

गुप्तालाई “इभिडेन्स” को रुपमा लिन सकिन्छ ?

नेपाल रत्न तथा आभुषण संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्तालाई “इभिडेन्स” को रुपमा लिएर अनुसन्धान अगाडी बढाउन सकिने तर्क प्रहरी उपरिक्षक रेग्मीको छ । ठाडो उजुरीले मात्र प्रमाणको आधार नदेखिदा निवेदकलाई समेत साक्षीको रुपमा राखी अनुसन्धान गर्न सकिने उनको भनाई छ । ठाडो उजुरीको बिषयमा कसरी अनुसन्धान गर्ने भन्ने निक्र्यौलमा पुग्न नसकेको एसपी रेग्मीको बताए ।

गुप्ताले दिएको उजुरी गम्भिर प्रकृतिको छ, यसलाई अनुसन्धान गर्न जटिल देखिन्छ, प्रहरीले स्रोतले भन्यो, उच्च राजनीतिक हस्तक्षेपको कारण अनुसन्धान प्रभावित बनेको छ । उजुरीमा नेपाल उद्योग वाणिज्य संघका पदाधिकारीको नाम समेत जोडिएकोले विभिन्न क्षेत्रबाट हुन सक्ने दवाव र प्रभावको मूल्यांकन गरेर प्रहरीले कुनै कदम नचालेको हो ।

यता संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले सुन माफिया र तस्कर विरुद्ध कार्वाही चलाउन सरकारलाई सजिलो होस भन्ने उदेश्यले आफूले किटानी उजुरी दिएको बताउछन् । मैले दिएको उजुरी माथि छानविन होस् प्रमाण सजिलै जुट्ने स्थिती छ, गुप्ताले भने “छानविन नै नगरी कसरी प्रमाण फेला पर्छ ।”

उजुरीमा परेका व्यक्तिहरुको कारोवारको विवरण, उनीहरु संलग्न रहेको कम्पनी र भरियाको नाउँमा खुलेका कम्पनीको हिसाव लिने वित्तिकै प्रमाण सजिलै आउँछ, गुप्ताले भने “कसैलाई जोगाउन प्रमाण पुगेको छैन भने अनुसन्धान नै रोकिन्छ भने सरकारले तस्कर माफिया विरुद्ध चलाएको कार्वाहीलाई के को संज्ञा दिने ।”

आफूले दिएको उजुरीमा अहिले पनि अडिग रहेको र यसमा प्रहरीले आवश्यक ठानेमा स्वयम् “इभिडेन्स” को रुपमा उभिन तयार रहेको गुप्ताको भनाई छ । साना व्यवसायको सुन कब्जा गरी अवैध रुपमा आएको सुन समेत तस्करी गर्ने मुख्य नाइकेको रुपमा रहेका सुमनमान ताम्रकार र निर्मल तुलाधरलाई सोधपुछ गरे धेरै कुरा बाहिर आउँछ उनले भने ।

महासंघको अधिवेशन प्रभावित हुन सक्ने ?

सुनचाँदी रत्न तथा आभुषण महासंघको चैतको पहिलो हप्ता काठमाडौंमा हुने अधिवेशन सुन कोटाको दुरुपयोगमा पदाधिकारी संलग्न रहेको विषयले प्रभावित हुन सक्ने अवस्था सृजना भएको एक व्यवसायीले बताए ।

महासंघले चैत २ र ३ गते काठमाडौंमा साधारण सभा तथा अधिवेशन गर्ने निर्णय गरेको छ । देशभारका करिव ४ सय प्रतिनिधिहरुको सहभागीता रहने उक्त अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । सुनको कोटा दुरुपयोगको आरोप लगेको कारण मुख्य पदाधिकारीहरुका विरुद्ध सदस्यहरुको मोर्चावन्दी हुने ती व्यवसायीले बताए ।

सुन आयतमा कोटा प्रणाली लगाएपछि सुन व्यवसायसँग सम्वन्धित संघ र महासंघले सुनको मूल्य निर्धारण गर्दै आएको छ । संघका मुख्य पदाधिकारीहरुले विभिन्न जिल्लामा वितरण गर्नुपर्नेमा खुद्रा तथा साना व्यवसायीको कोटा होल्डगरी बाणिज्य बैंकको टेजरी विभागसँग मिलेमतोमा आफ्ना कामदारको नाउँमा दर्ता भएका कम्पनी मार्फत सुनको अवैध व्यापार गर्दै आएको भन्दै प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

महासंघ र संघमा रहेको पदाधिकारी र व्यवसायीहरु पवन कुमार सोमानी, मणिक रत्न शाक्य, शक्ति वेगानी, सुमनमान ताम्रकार, निर्मल तुलाधारले थोक विक्रेताको रुपमा देशका विभिन्न शहरमा कम्पनी खोलेर सुनको तस्करी गरेको आरोप व्यवसायीहरुको छ ।

विगत लामो समयदेखि सुनको अवैध कारोवारमा लागेका संघका पदाधिकारीहरुले होटल, धरजग्गा र क्यासिनोमा समेत लगानी गरेको स्रोतको भनाई छ । पाँच बर्षको अवधिमा पदाधिकारीले कमाएको सम्पत्ति, उनीहरुको कारोवार, बैंक खाता तथा सुन खरिद र विक्री खाता जाँच गर्ने हो भने उनीहरुले तस्करी मार्फत राज्यलाई ठगी गरेको रहस्य सार्वजनिक हुने संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताको भनाई छ ।


सम्बन्धित समाचार