Logo

२२ फागुन,वीरगञ्ज । मधेश प्रदेश सरकारबाट कांग्रेस अहिलेसम्म बाहिरिएको छैन । सत्ता समीकरण बदलिएपनि मधेश प्रदेश सरकारबाट कांग्रेस हटेको छैन ।
समीकरण फेरिए पनि कांग्रेससहित लोसपाले आजसम्म आफ्नो मन्त्रीलाई फिर्ता बोलाएको छैनन्, जसकारण विभिन्न अड्कलवाजी सुरु भएको छ ।

पुरानै समीकरण अनुसार गठित सरकार नै अहिले मधेश प्रदेशमा कायम छ । मधेश प्रदेशका गृह मन्त्री मन्त्री महम्मद समिमले आफूहरु अहिलेसम्म सरकारबाट बाहिरिने सवालमा छलफल नगरेको जनाए ।

हामी मन्त्रीकै हैसियतमा काम गरिरहेको उनी बताउँछन् । उनी भन्छन्,‘केन्द्रमा के भएको हो, हामीलाई थाहा छैन् । तर हामी सरकारमा आजसम्म छौं । भोली के हुन्छ, त्योबारेमा हामी छलफल चलाइरहेका छौं, जे निर्णय हुन्छ त्यहीबमोजिम हामी अगाडि बढ्छौं ।’

मधेश प्रदेश सरकार जसपासंगै कांग्रेस, माओवादी, लोसपा,एकीकृत समाजवादीको समर्थन थियो । तर अहिलेको केन्द्रीय समीकरणमा यसबाट लोसपा र कांग्रेस बाहिरिएको छ ।
केन्द्रीय समीकरण अनुसार नै प्रदेशमा सरकार गठन हुने भएपनि प्रदेशमा भने सत्ता पक्ष र प्रतिपक्षी दल अहिले आफ्नै रणनीति बुनिरहेका स्रोतका दाबी छ ।

त्यसकारण अहिले मधेश प्रदेशमा केन्द्रको हलचलको असर परेको छैन् । न त यहाँ कसैले कुनै मन्त्रीलाई बर्खास्त गरिरहेका छन् नत कुनै दलले आफ्नो नेतृत्वमा सरकार बनाउने माग नै गरिरहेको छ ।
कारण– अहिले यहाँ निर्णायक लोसपा, जनमत, तीन साना दल र एक जना स्वतन्त्र प्रदेश सांसद छन् । नयाँ समीकरणमा अहिलेसम्म एमाले, माओवादी, जसपा, रास्वपा दल छन् ।

लोसपा, जनमत, एकीकृत समाजवादीसहितका दलहरु भने अहिलेसम्म आफ्नो धारणा सार्वजनिक गरिसकेका छैनन् । यी तीनै दल अनिर्णीत हुँदा मधेश प्रदेशमा केन्द्रको कम्पनको उथलपुथल खासै असर परेको छैन् ।
त्यसकारण यी ३ वटै दलहरुलाई अहिले मौन राख्ने हो भने प्रदेशमा सत्ता समीकरणमा आवद्ध ४ दलहरुमध्ये मधेश प्रदेशमा तीनवटा दलका सांसदहरु मात्रै छन् । यो प्रदेशमा रास्वपा भने शून्य छ ।

नयाँ समीकरण अनुसार यहाँ एमालेको २३, जसपाको १९, माओवादी केन्द्रको ९ जना प्रदेश सांसद छन् । यो जोड्दा अहिले नयाँ समीकरणमा ५१ जना सांसद छन् ।
प्रदेश सरकार चलाउन ५४ जना सांसदको समर्थन चाहिन्छ, मधेश प्रदेश सरकार निर्माण लोसपा, जनमत वा एकीकृत समाजवादीमध्ये कोही एकले समर्थन जनाउँनुपर्छ ।

तर अहिलेसम्मको राजनीतिक परिदृश्यक त्यस्तो देखिएको छैन । यी तीनै दलहरुको आ–आफ्नै दाबीमा छन् । जनमतले मधेश प्रदेशमा आफ्नै नेतृत्वमा मुख्यमन्त्रीको दाबी गरिरहेको छ भने लोसपा र एस अहिलेसम्म अनिर्णीत नै छ ।

यदि तीनवटै दल कांग्रेससंग उभियो भने कांग्रेस पनि टक्करको लडाइँमा उत्रिन्छ । अर्था्त मधेश प्रदेशमा कांग्रेस, जनमत, लोसपा, र एकीकृत समाजवादी पार्टी एक समीकरणमा हुँदा यी दलहरुसंग ५० जना सांसदहरु देखिन्छन् ।

प्रदेश सदनमा कांग्रेसको २२, जनमतको १३, लोसपाको ८ (१ जना निलम्वित छन्), एकीकृत समाजवादीको ७ जना सांसद संख्या छ । यो सबै जोड्दा ५० सांसद संख्या पुग्न जान्छ तर सरकार बनाउँन ५४ जना सांसदको समर्थन चाहिन्छ । त्यसकारण यी समीकरण बलियो देखिएको छैन् ।

 

 


सम्बन्धित समाचार