Logo

२३ फागुन,वीरगञ्ज । केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसंगै मधेश प्रदेशमा नयाँ सरकार निर्माण गर्ने चलखेल सुरु भएको छ ।

नयाँ समीकरण अनुसार मधेश प्रदेशमा सरकार बनाउन संकट भएपछि मुख्यमन्त्री यादव नेतृत्वको सरकार हटाएर जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने चलखेल सुरु भएको स्रोतको दाबी छ ।

मधेश प्रदेशमा सत्ता पक्ष र प्रतिपक्ष दुइवटै दल अहिले सरकारमै बसेर रणनीति बुनिरहेको स्रोत बताउँछ । जुनकारणले न त नयाँ समीकरण अनुसार यादव नेतृत्वको सरकारले कसैलाई बर्खास्त गर्न सकिरहेको छ नत प्रतिपक्षमा रहेको दलहरुले नै राजीनामा दिइरहेका छन् ।

स्रोतका अनुसार मधेश प्रदेशमा कांग्रेसले सरकारमै रहेर भित्रभित्रै दाउपेच मात्रै सुरु गरेको छैन्, जनमतको नेतृत्वमा सरकार नै बनाउने लविङ्ग समेत गरिरहेको छ ।

के गर्दैछ कांग्रेस ?

मधेश प्रदेशमा सत्ता पक्ष र प्रतिपक्षी दलबीच काटाको लडाइँ छ । नयाँ समीकरणमा आवद्ध दलहरुसंग लगभग ५१ जना सांसदको समर्थन छ भने कांग्रेससहित रहेका दलहरुसंग ५० जना सांसदको समर्थन छ ।
त्यसकारण कांग्रेसले अहिले नयाँ सत्ता समीकरण अनुसार सरकार बनाउन नदिन योजना बुनिरहेको स्रोतको दाबी छ ।

कांग्रेस मधेश प्रदेशले अहिले जनमत पार्टीलाई आफ्नो सरकार बनाउने तयारीमा जुटेको स्रोतको भनाइ छ ।
स्रोतका अनुसार कांग्रेसले मधेश प्रदेशमा जनमत पार्टीलाई मुख्यमन्त्री दिएर सरकार निर्माण गर्ने रणनीति लिएको छ ।

त्यसका लागि विभिन्न साना दल तथा स्वतन्त्र सांसदसंग कांग्रेसले छलफल गरिरहेको कांग्रेस स्रोतले जनाएको छ । स्रोत भन्छ, ‘लगभग सबैसंग कुरा भइसकेको छ, हामी प्रतिक्षामा लोसपाको । लोसपा केन्द्रमा सरकारमा गएन भने हामी लोसपासहित मधेश प्रदेशमा नयाँ समीकरणको विपक्षमा सरकार बनाउँछौं ।’ उनका अनुसार त्यसका लागि साना दल तथा सांसदहरुसंग लगभग सहमति पनि भइसकेको छ ।

कांग्रेसले जनमतको नेतृत्वमा लोसपा, एकीकृत समाजवादीसहित तीन साना दललाई तथा एकजना स्वतन्त्र सांसदलाई समेटेर सरकार बनाउने तयारी गरेको बताइन्छ ।


सम्बन्धित समाचार