Logo

२४ फागुन,ठोरी । पर्साको ठोरी गाउँपालिकाले आधारभूत तह कक्षा ८ को अन्तिम परीक्षा ३ ओटा केन्द्रबाट लिने निर्णय गरेको छ । परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन पालिकाभित्रका ३ ओटा माध्यमिक विद्यालयमा केन्द्र तोकिएको गाउँपालिका शिक्षा संयोजक भुपाल कुमार जोशीले जानकारी दिनुभयो ।

ठोरीमा ६ ओटा माध्यमिक विद्यालय र ५ ओटा कक्षा ८ सम्म सन्चालित विद्यालयहरु छन् । ११ ओटा विद्यालयमा कक्षा ८ अध्ययन गर्ने ३ सय १७ जना विद्यार्थी यस पटक कक्षा ८ को परीक्षामा सहभागी हुँदैछन् । ठोरी –२ मा रहेको सरस्वती मावि केन्द्रमा सो विद्यालय, नेरा प्राविधिक मावि र वनशक्ती आधारभूत विद्यालयका विद्यार्थीले परीक्षा दिनेछन् ।

यस्तै ठोरी –३ मा रहेको नेरामावि ओडार केन्द्रमा सो विद्यालयका विद्यार्थी, गृष्म आधारभूत विद्यालय, ब्रम्हपुरी आधारभूत विद्यालय र सरस्वती आधारभूत विद्यालयका विद्यार्थी सहभागी हुँदैछन् । त्यसैगरी ठोरी –४ को मावि विजयवस्ती केन्द्रबाट सोही विद्यालय, ज्ञानवाटिका मावि सुवर्णपुर, ज्ञानज्योति मावि घ्याडडाँडा र नेरा आधारभूत विद्यालय निर्मलवस्तीका विद्यार्थीले परीक्षा दिने शिक्षा संयोजक जोशीले बताउनुभयो ।

परीक्षाको नियमित अनुगमन र स्वतन्त्र पर्यवेक्षणका लागि पालिकाले प्रत्येक केन्द्रमा एक÷एक जना पर्यवेक्षक खटाउने पनि उहाँले जानकारी दिनुभयो । उत्तरपुस्तिका परीक्षणका लागि विषयविज्ञ छनोट गरेर पालिका कार्यालयमा नै उत्तरपुस्तिका परीक्षण गरिने पनि पालिकाको तयारी छ ।


सम्बन्धित समाचार