२७ फागुन,वीरगञ्ज । वीरगञ्जको घण्टाघर । सधै विहान यहाँ लाग्ने गर्छ एउटा विशेष खालको भीड । शहरको मुटुमा रहेको घण्टाघरमा भीड लाग्नु स्वभाविक हो । तर यहाँको भीड भने एउटा खास भीड हो, जुन भीडमा काम गर्न तँछाडमछाड हुन्छ । यो सुन्दा पत्यार लाग्दैन तर यो बीरगन्ज घण्टाघरको वास्तविक दृश्य हो । विहान ८ बजेदेखि १२ बजेसम्म चल्ने श्रमिकहरुको यो बजार तपाइ हामीहरु सधै हेर्ने गर्छौ । अब यसलाई यसरी बुझौं ।
पर्सा जिल्ला आसपासमा यो नामै काफी छ । बीरगन्ज आउँदा अथवा कोहीसंग भेट्नु पर्दा होस सर्वसाधारणको मुखमा पहिलो आउने शब्द हो–घण्टाघरमा भेटौला ।अर्थात् बीरगन्ज आउँदा जोकोहीले पनि घण्टाघरलाई नै सम्झिएको हुन्छ । यसका धेरै कारणहरु छन् । बीरगन्जको बजार यहीबाट सुरु हुनु, बीरगन्जको प्राइम लोकेसनमा पर्नु, सबैतिरबाट पायक हुनुसहितका अनेक कारणले घण्टाघर चर्चामा रहन्छ ।
त्यहीकारणले होला पनि यही घण्टाघरसंग जोडेर अनेकन नेपाली र भोजपुरी गीत बनाइएका छन्, जसले प्रमाणित गरिरहेको छ–घण्टाघरको महत्व,तर यो घण्टाघर भने अहिले अर्को उपनामले पनि आफ्नो परिचय बनाउन थालेको छ । जे हुँदा पनि जिब्रोमा झुण्डिने शब्द घण्टाघर अहिले भने श्रमिकहरुको बजार बन्न थालेको छ ।
श्रमिक बजार भनेपछि पत्यार लाग्दैन् होला । तर पछिल्लो समयको यही वास्तविकता हो । अर्थात् घण्टाघर पछिल्लो समय श्रम बजार स्थल बन्दै गएको छ । काम गर्न आउने श्रमिकहरु यहाँबाट बेचिन्छन्, श्रमदाताहरु छानीछानी श्रमिक लैजाने गरेको दिनहुँ उदाहरण हेर्न पाइन्छ । गाउँबाट घण्टौं साइकल चलाएर बीरगन्जको घण्टाघरमा श्रमिकहरु भेला हुने गर्छन्, त्यो पनि विहान ८ बजेदेखि नै ।
त्यसका केही दर्दनाक कथा पढौं, जुन यस्तो छ ।
परमेश्वर साह । उनी पर्साको पोखरिया नगरपालिका निवासी हुन् । उनको सधैको दिनचर्या भने विहानै उठ्ने, केही खाना लिएर बीरगन्जको घण्टाघरका लागि हिड्ने । घण्टाघर आउनुको खास अर्थ रोजगारी पाउनु हो । उनलाइ लाग्दछ –गाउँमा काम पाइदैन्, छाक टार्न धौधौ हुन्छ, त्यसकारण काम गर्नका लागि घण्टाघर पुग्दछन् ।
उनका अनुसार कहिलेकाही काम पाइन्छ पनि, कहिले भने रित्तै फर्किनुपर्ने हुन्छ । तर उनको परिवारको गुजारा भने यही घण्टाघरमा लाग्ने श्रम बजारबाट भइरहन्छ । घण्टाघरमा आइएन भने परिवार भोकै बस्नुपर्ने अवस्था रहन्छ,’उनले भने ।
साह मात्रै होइन, बिन्दवासिनी गाउँपालिकाका नरेश पासवानको पनि यही दिनचर्या हो । उनी पनि साह जस्तै घण्टौ साइकल चलाएर विहान ९ बजे अगाडि नै घण्टाघरमा हाजिर गर्न पुग्छन् । उनका अनुसार यहाँ जो विहान चाँडै हाजिर गर्न आउँछ, उसले पहिलै काम पाउँछ । ढिलो आउनेको यहाँ अर्थ नभएको उनको भनाइ छ । यहीकारणले होला अधिकांश श्रमिकहरु घण्टाघरमा विहान ८ बजेदेखि आइपुग्ने गरेको उनी सुनाउँछन् । तरपनि काम भने पाउने कुनै ग्यारेन्टी भने नहुने गरेको उनको भनाइ छ ।
यी दुई जना त घण्टाघरको श्रमिक बजारका केही प्रतिनिधिमूलक पात्र मात्रै हुन् । उनीजस्ता यहाँ सयौं श्रमिकहरु कामको खोजीमा मेला लगाएर बस्ने गर्दछन् । उनका अनुसार कपडा पसल वा अन्य पसलमा छानीछानी खरिद गर्ने प्रवृति घण्टाघरको श्रम बजारमा सजिलै देख्न पाइन्छ ।उनीहरुका अनुसार घण्टाघर दैनिक ३०० कामदारको भिड लाग्ने गरेको छ । तर काम पाउने वा नपाउने भन्ने निश्चित हुँदैन ।
काम पाइहाल्यो भने पनि दैनिक ५ देखि ७ सयसय सम्म ज्यालादारी वापत कमाइन्छ । यसमा भारतीय नागरिकहरु भीडले गर्दा नेपाली श्रमिकहरुले उचित पारिश्रमिक नपाउने गरेको उनीहरुको गुनासो छ ।उनका अनुसार भारतीय कामदारहरु ५ सयमै पारिश्रमिकमा काम गर्न तयार हुनेगर्छन्, जुन कारण हामीलाई कठिनाइ हुन्छ ।
बेरोजगारीको समस्या कारण घण्टाघरमा रोजगार पाउने आशामा आफूहरु आउने गरेको उनीहरुको भनाइ छ ।घण्टाघरका श्रमिकहरुलाई खासगरी फोहोर उठाउने, सरसफाइ तथा राजगिरको काममा जाने गरेको उनीहरु बताउँछन् ।