Logo

फाइल फोटो

२८ फागुन,वीरगञ्ज । पर्साको ग्रामिण भेगमा आतंक मच्चाएको पाटे बाघ अझै फेला पर्न सकेको छैन् । बाघ नियन्त्रण गर्न चार दिनदेखि खटेको टोलीले अझैसम्म बाघ फेला पार्न नसकेको डिभिजन वन कार्यालय पर्साले जनाएको छ ।

उपद्रो मच्चाएको बाघ नियन्त्रण गर्नका लागि पर्सा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुन्ज र सब डिविजन वन कार्यालय रंगपुरबाट १६ जनाको संयुक्त टोली खटेको जनाइएको छ ।
सखुवाप्रसौनी गाउँपालिकाको मधुवनमथवल र थाँपाटाँडी क्षेत्रमा विशेषगरी टोली खटाइएको वन कार्यालय पर्साका प्रमुख हेमन्त साहले बताए ।

उनका अनुसार पर्सा निकुञ्ज र चितवन निकुञ्जका १० जनाको प्राविधिक टोली र रंगपुर कार्यालयबाट खटिएका ६ जनाको संयुक्त टोलीले निरन्तर बाघको खोजी गरिरहेको बताए । बाघ बस्ने सम्भावित क्षेत्रहरुमा टोलीले खोजी गरिरहेको उनको भनाइ छ ।

उनले भने, ‘बाघ झाडी तथा खेतबारीमा लुकेर बस्ने र सिकार देख्नासाथ आक्रमण गर्दछन्, त्यहीकारण टोलीले ‘पग मार्क’ अनुसार बाघको खोजी गर्दैछ ।’
बाघलाई समात्न प्राविधिक टोलीले ३ वटा हात्तीसमेत प्रयोग गरेको प्रमुख साहले बताए । बाघलाई डार्टगनमार्फत नियन्त्रणमा लिने र निकुञ्जको टोलीले लिएर जाने उनी बताउँछन् ।

राष्ट्रिय वन क्षेत्रसँग सिमा जोडिएको पर्साका ग्रामीण इलाकाहरुमा केहि महिनादेखि बाघले आतंक मच्चाएको छ । दिनदहाडै जंगली बाघ बस्ती प्रवेश गरेर मानवीय तथा पशुचौपायालाई उपद्रो मचाउँदै आएको छ ।
जनावरले यसरी निरन्तर क्षती पु¥याउँदा स्थानीयबासी घर बाहिर निस्कन, सडकमा आवातजावत गर्न क्रसित हुने गरेका छन् ।

यहीबीच बाघबाट सुरक्षित रहन वन कार्यालयहरुले सार्वजनिक सूचना समेत जारी गरेका छन् । सार्वजनिक सूचनाहरुमा जंगल आसपासका क्षेत्रहरुमा जाँदा सावधानी अपनाउन, घासँ दाउरा गर्न जंगल नजान, रातको समयमा घर बाहिर ननिस्कन, निस्कनै परे एक्लै नजान अनुरोध गरिएको छ ।


सम्बन्धित समाचार