Logo

२९ फागुन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको बजार अनुगमन टोलीले बजार अनुगमन कार्य सुरु गरेका छन् । फागु पूर्णिमा (होली) लक्षित गर्दै टोली बजार अनुगमनलाई तिव्र पारेको हो ।

वीरगञ्ज महानगरपालिकाका खाद्य अधिकृत बिपिन कुमार दासको नेतृत्वमा निस्केको टोलीले आज बाइपास र बसपार्क क्षेत्रको होटल, कोल्ड स्टोर र किराना पसलहरुको अनुगमन गरेको हो । होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तका अनुसार अनुगमनका क्रममा बसपार्क एरियाका विभिन्न पसल र होटलहरुबाट म्याद गुज्रिएका लिच्ची जुस, पेप्सी, लेज, कुरकुरे र बियरहरु जफत गरि नष्ट पारिएको छ ।

टोलीले गरेको बजार अनुगमनमा ब्यबसायीहरुको भागाभाग भएको छ । अनुगमन टोलीले बजार अनुगमन गरिरहँदा व्यापारीहरुले भने आफ्नो सटर पसलहरु नै बन्द गरेर भागाभाग गरेका हुन् । अनुगमन गर्दा पसल सटर बन्द गरि भागेका केही पसलहरुमा बजार अनुगमन समितिका संयोजक समेत रहेका वीरगञ्ज महानगरका उपमेयर इम्तियाज आलमको निर्देशनमा महानगरले सिल गर्न खोजेपछि केही व्यापारीहरु आफैले आफ्ना पसल र होटलहरु खोलेका थिए ।

केही व्यापारीहरुले भने मन्दिको समयमा विभिन्न निकायहरुले पटक पटक अनुगमन गरेर ब्यापारीहरुमा त्रास फैलाएकोमा आपत्ति समेत प्रकट गरेर विरोध स्वरुप व्यवसायहरु बन्द गराएका थिए ।

अनुगमनका क्रममा वडा प्रहरी कार्यालय विर्ता, सशस्त्र प्रहरी, नगर प्रहरी, नाप तौल कार्यालय, खाद्य अनुसन्धान र जिल्ला प्रशासन कार्यालयहरुका प्रतिनिधिहरुका साथै होटल तथा पर्यटन ब्यवसायी संघ वीरगञ्जका अध्यक्ष पन्त र वीरगञ्ज उद्योग वाणिज्य संघका मनोज दास लगायतको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार