२ चैत, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन्। शुक्रवार बिहान बालुवाटार पुगेर गृहमन्त्री लामिछानेले प्रधानमन्त्री प्रचण्डसमक्ष प्रतिवेदन बुझाएका हुन्।
आयोगले तयार पारेको प्रतिवेदनमा अनुसन्धानमा खटिएको प्रहरी अधिकारी सहित केही उच्च राजनीतिक व्यक्ति तथा पूर्व प्रहरी महानिरीक्षकको समेत संलग्नता देखिएको औल्याइएको छ । प्रतिवेदनलाई कार्यान्वयन गर्न गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीको साथ खोजेका छन् ।
प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदन कार्यान्वयन गर्न, जुनसुकै दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउन र प्रतिवेदनले औँल्याएका सुधारका पक्षमा पनि तत्काल काम अगाडि बढाउन गृहमन्त्री लामिछानेलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री लामिछानेले प्रतिवेदन कार्यान्वयनबारे आन्तरिक परामर्श थालेको गृहमन्त्रीको सचिवालयले जनाएको छ। गृहमन्त्रीले अपराध अनुसन्धानमा खटिएका प्रहरी अधिकारीलाई पहिलो चरणमा कार्वाही प्रकृया अगाडी बढाउने भएका छन् ।
एआईजीलाई विभागीय कार्वाहीको सिफारीस
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की प्रमुख एआईजी किरण बज्राचार्यमाथि कारबाही सिफारिस भएको छ । सुन तस्करीको छानबिनका क्रममा लापरबाही गरेको ठहर गर्दै सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले बज्राचार्यलाई विभागीय कारबाही सिफारिस गरेको हो ।
प्रहरीकै पूर्वउच्च अधिकारीका साथै राजनीतिक दलका नेतालगायतलाई उन्मुक्ति दिएको छानबिन समितिले देखाएको गृह मन्त्रालय स्रोतले जनाएको छ । आयोगको सिफारिससँगै बज्राचार्यमाथि विभागीय कारबाहीको प्रक्रिया अघि बढ्ने बताइएको छ ।