Logo

३ चैत, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माआवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबिच पार्टी एकता गर्ने सहमति भएको छ । एकता प्रक्रियामा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई सहभागी नहुने जनाएपछि उनलाई वाइपास गरेर पार्टी एकता गर्ने निर्णण भएको हो ।

माओवादी केन्द्र र नेसपा केन्द्रीय समितिको एकता संयोजन समितिको प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड को अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

बाबुराम पछिल्लो समय एकता प्रक्रियाको विपक्षमा रहेका थिए । उनी शनिवारको बैठकमा समेत सहभागी थिएनन् । सहमति पत्रमा माओवादी केन्द्रका तर्फबाट महासचिव देव गुरुङ र नेसपाको तर्फबाट महासचिव रमेशप्रसाद यादवले हस्ताक्षर गरेका छन् ।

बैठकमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट प्रधानमन्त्री प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरुङ, नेपाल समाजवादी पार्टीको तर्फबाट अर्का अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव सहभागी थिए।

सहमतिअनुसार एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुंगो लगाउने निर्णय गरिएको छ ।

पार्टी एकताका लागि वैचारिक एकरूपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ । कार्यदलमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेपाल समाजवादी पार्टीका तर्फबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव रहेका छन् ।

यता पार्टी अध्यक्षलाई समेत जानकारी नदिई एकता प्रक्रियामा गएकोमा नेसपा नेतृ मानुषी यमीले असन्तुष्टि व्यक्त गरेकी छन् । उनले भनिन्, ‘भोलिदेखि पार्टीको बैठक बोलाइएको छ । बैठकमा नआएर चोर बाटोबाट एकता प्रक्रियामा उहाँहरू जानुभयो । यो पार्टी एकता होइन, आत्मसमर्पण हो ।


सम्बन्धित समाचार