Logo

३ चैत,वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ५ की रुक्साना खातुन आफ्नै श्रीमानविरुद्ध प्रहरीमा उजुरी गरेकी छन् ।यही फागुन २२ गते जिल्ला प्रहरी कार्यालय पर्सामा रुक्सानाले श्रीमान समसुद्दिन मियाँलाई विपक्षी बनाउँदै घरेलु हिंसा गरेको जिल्ला प्रहरी कार्यालयको जेष्ठ महिला तथा वालवालिका यूनिटमा उजुरी गरेकी छन् ।

उजुरीमा श्रीमान मियाँले आफूलाई कुटपिट गरी घाइते बनाएको आरोप लगाइकी छन् । उनले उजुरीमा लेखेकी छन्,‘श्रीमानले सधै कुटपिट गर्नुहुन्छ, यो पटक कुटपिट गर्दा आँखामा चोटपटक लागेको छ । सधै यातना दिइरहनुहुन्छ, त्यसकारण श्रीमानलाई झिकाइ आवश्यक कारबाही गरी पाऊँ ।’

प्रहरीमो उजुरी गरेपछि महिला सेलले बोलाएर छलफल गराइ तारेखमासमेत राखेको पर्सा प्रहरी बताउँछ । यो घटनाको एक दिन पछाडि अर्थात् २३ गते महिला सेलमा यही प्रवृतिको अर्को निवेदन पर्‍यो । बीरगन्ज महानगरपालिकाको वडा नम्बर १४ निवासी स्वायत खातुनले आफ्नो श्रीमानविरुद्ध प्रहरीमा उजुरी दिइन् । श्रीमान मुन्ना अन्सारीले आफूमाथि सधै कुटपिट गर्ने गरेको उनको उजुरीमा लेखिएको छ ।

उजुरीमा स्वायतले भनेकी छन,‘श्रीमान सधै जाँडरक्सी खाने बानी छ, त्यो बानीले गर्दा जहिले पनि घरमा आएर झैझगडा गर्नुहुन्छ । अहिले पनि त्यही भएको हो, खाएर आउनु भयो अनि गालीगलौज तथा कुटपिट गर्न थाल्नुभयो । राम्रोसंग बस्न दिनुहुन्न । त्यसकारण उनलाई बोलाइ कानुनी न्याय पाऊँ ।’

स्वयातको उजुरीमा पनि बोलाएर छलफल गराइएको प्रहरीले जनाएको छ । अहिले दुबैजनालाई तारेखमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पर्सागढीकी खातुन र बीरगन्ज स्वायत त केही प्रतिनिधिमूलक उदाहरण मात्रै हुन । यो चालू आर्थिक वर्षको फागुनसम्ममा मात्रै पर्सा जिल्लामा २ सय भन्दा बढी घरेलु हिंसाका उजुरी परेको तथ्यांक छ ।

कुन महिनामा कति ?

चालू आर्थिक वर्ष ०८१/०८१ को फागुनसम्म २३० वटा घरेलु हिंसाको उजुरी परेको प्रहरी रेकर्ड छ । साउनदेखि फागुनसम्मको ८ महिनामा सबै भन्दा बढी साउनमा उजुरी परेको रेकर्ड छ । प्रहरी तथ्यांकमा साउनमा ६४, भदौंमा ३६, असोजमा ३९, कार्तिक ६, मंसिरमा २७, पुष १६, माघमा २७ र फागुनमा १५ वटा घरेलु हिंसाको उजुरी परेको रेकर्ड छ । जसमध्ये २०६ वटा उजुरीमा फछ्र्यौट भइसकेको प्रहरी विवरणमा उल्लेख छ ।

८ महिनाको विवरणमा सबै भन्दा कम कार्तिक महिनामा घरेलु हिंसाको घटना भएको आँकडा छ । अधिकांश घरेलु हिंसाका घटना श्रीमानसंग सम्बन्धित हुने गरेको महिला सेलकी प्रहरी सहायक निरीक्षक नन्दकला श्रेष्ठले बताइन् ।
उनका अनुसार सामान्य कुरामा विवाद हुँदा पनि श्रीमानले श्रीमतीमाथि हातपात गरेको कैयौं घटनामा देखिने गरिन्छ ।

हरेक दिन एउटा घटना

पर्सामा घरेलु हिंसाको ग्राफमा कमी नआएको प्रहरी विवरणले देखाइरहेको छ । प्रहरी विवरणलाई आधार मान्ने हो भने चालू आर्थिक वर्षको ८ महिनामा ३० दिनको हिसाबले २४० दिन पुग्न जान्छ । यो २४० दिनमा २३० वटा घरेलु हिंसाको उजुरी परेको तथ्यांक छ । अर्था्त प्रहरीको यही आँकडालाई आधार मान्ने हो भने सरदर हिसाबले पर्सा जिल्लामा हरेक दिन एउटा घरेलु हिंसाका घटना भइरहेको तथ्यांकबाट पुष्टि भइरहेको छ ।

घरेलु हिंसा हुनुमा सचेततनाको कमी रहेको पाइएको पर्सा प्रहरीको ठम्याइछ । पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले तराइको सन्दर्भमा घरेलु हिंसा खासगरी शिक्षामा कमीले हुने गरेको बताए। उनले भने,‘शिक्षामा कमी भएपछि सचेतनाको कमी हुन्छ । अनि यही बेला एकले अरुको देखासिकी गर्छन्, जसकाकारण मूलतः यस्ता घटनाहरु हुने गरेको छ ।’ उनका अनुसार पछिल्लो समय बढ्दो सामाजिक सञ्जालको गलत प्रयोगका कारणले पनि यस्ता घटनाहरु प्रशय पाइरहेका छन् ।


सम्बन्धित समाचार