Logo

४ चैत, पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र सम्बर्धन गर्ने सरकारको नीति रहेको बताउनुभएको छ ।

प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवर्द्धन र हितका निम्ति सञ्चार माध्यमको व्यावसायिक र संस्थागत विकास गरिने बताउनुभयो ।

“वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्ने गरी आवश्यक संरचना र पूर्वाधारको निर्माण गर्नुका साथै कानुनी र व्यवहारिक सुनिश्चितता गर्न प्रतिबद्ध छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति सरकारको प्राथमिकतामा छ ।”

प्रधानमन्त्री प्रचण्डले सूचना प्रविधिको प्रयोगबाट समृद्धि प्राप्त हुन्छ भन्ने वर्तमान सत्यलाई आत्मसात् गर्नुपर्ने बताए । “आज दुनियाँमा त्यस्तो कुनै क्षेत्र छैन, जहाँ सूचना–प्रविधिको निर्णायक भूमिका नहोस्,” प्रधानमन्त्री प्रचण्डले भने, “हिजो सूचना सम्प्रेषणको माध्यमका रूपमा विकसित प्रविधिको क्षेत्र ज्ञान–विज्ञान, उत्पादन, निर्माण, ज्ञान उत्पादन, सम्प्रेषणसहित अर्थतन्त्रको निर्णायक क्षेत्रका रूपमा उपस्थित छ ।”

सूचना–प्रविधिको विकास र यसबाट सिङ्गो विश्व र राष्ट्रिय जीवनमा पारेको प्रभाव एवं राष्ट्रको बृहत्तर विकास तथा समृद्धिका लागि यसको सर्वव्यापी र निर्णायक रहेको प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले भने, “चौथो औद्योगिक क्रान्तिका रूपमा विकसित सूचना प्रविधिले मानव जाति र सामाजिक जीवनका सम्पूर्ण अवयवहरूमा सकारात्मक प्रभाव मात्र पारेको छैन, अपितु सूचना–प्रविधिभन्दा बाहिरबाट मानव जातिको अस्तित्वको कल्पना नै गर्न नसकिने ठाउँमा सिङ्गो विश्व आइपुगेको छ ।”

पालिखे परिवारले स्थापना र नेपाल पत्रकार महासंघले संचालन गर्दै आएको दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मानबाट दीपेन्द्र श्रेष्ठ सम्मानित भएका छन् ।

२०७९ सालको पत्रकारिता सम्मान कास्की महासंघका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठलाई प्रदान गरिएको हो । यस्तै, मरणोपरान्त सम्मान स्व. त्रिभुवन पौडेललाई अर्पण गरिएको छ । २०८० को सम्मान त्रिभुवनकी धर्मपत्नी प्रतिभा अधिकारीलाई अर्पण गरिएको हो ।

दुवै पुरस्कारको राशि १ लाख १ हजार १ सय ११ छ । दुबैजनालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान अर्पण गरे ।


सम्बन्धित समाचार