Logo

४ चैत,वीरगञ्ज । राष्ट्रिय भूमि आयोग जिल्ला समिति पर्साले १५७ जना परिवारलाई जग्गाको लालपुर्जा वितरण गर्ने तयारी गरेको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति पर्साले आज एक पत्रकार सम्मेलन गर्दै बैशाखमा लालपुर्जा बाँड्ने तयारी गरिएको जानकारी दिएको छ ।

पर्सा जिल्ला आयोग अध्यक्ष तबरेज अहम्मदले पत्रकार सम्मेलनमार्फत बैशाखमा पर्सागढी नगरपालिकामा १५७ जनालाई लालपुर्जा दिन लागिएको बताए । उनले भने,‘पर्सागढी नगरपालिकामा लालपुर्जा बाँडने तयारीमा छौं, नाप नक्सा भइसकेको छ । अब केही बाँकी प्रक्रिया पु¥याएर बैशाखमा सूचीकृत भएकाहरुलाई जग्गाको लालपुर्जा बाडिन्छ ।’

आयोगले जिल्लामा भूमिहीन दलित, भूमीहीम सुकुम्बासी र अव्यवस्थित बसोबासीका गरी ६ हजार ८ सय ८९ जना सूचीकृत भएका जनाएको छ । पर्सा आयोगका अनुसार जिल्लाबाट सूचीकृत भएकाहरुको विवरण केन्द्रीय तथ्यांकमा समेत दर्ज भइसकेको छ ।

पर्सा जिल्लाको विभिन्न पालिकामा भूमिहीन दलित १३ सय ६३, भूमीहीम सुकुम्वासी २५ सय ७७ र अव्यवस्थित बसोबासीमा २९ सय ४९ जना संख्या रहेको आयोगले तथ्यांक सार्वजनिक गरेको छ । आयोगको तथ्यांक अनुसार जिल्लामा सबै भन्दाबढी पाँचवटा पालिकामा भूमिहीनको समस्या देखिएको छ ।

ठोरी गाउँपालिका, सखुवाप्रसौनी गाउँपालिका, पर्सागढी र बहुदरमाइ नगरपालिका तथा बीरगन्ज महानगरपालिकामा बढी भूमीहीनको समस्या देखिएको राष्ट्रिय भूमि आयोग पर्सा अध्यक्ष अहम्मद बताउँछन् । उनका अनुसार त्यसमध्ये पनि ठोरी र पर्सागढीमा तीनवटै किसिमका भूमिहीनको संख्या रहेको देखिन्छ । तथ्यांक अनुसार ठोरीमा भूमिहीन दलितमा २६, भूमीहीम सुकुम्वासी १७ सय ४० र अव्यवस्थित बसोबासीमा १९ सय ६ जना सूचीकृत भएका छन् ।

यसैगरी पर्सागढीमा भूमिहीन दलितको संख्या ७ सय ७२, भूमीहीम सुकुम्वासी ३ सय ५७ र अव्यवस्थित बसोबासीमा ५ सय ५४ जनाको संख्या छ । सबैभन्दा कम भूमीहीनको समस्या भने बीरगन्ज महानगरमा देखिएको भूमि पर्सा आयोगको तथ्यांक छ । अन्य पालिका तथा नगरपालिकाको हकमा भने लगत संकलन भइरहेकोले उनीहरुको विवरण आउन बाँकी रहेको भूमि आयोग पर्साले जनाएको छ ।

अधिकांश पालिकाहरुले दलित तथा भूमीहीनहरुका हकमा सहयोग नगरिरहेको हुनाले उनीहरुको समस्या समाधानमा अप्ठयारो आइरहेको भूमि आयोग पर्साका अध्यक्ष अहम्मदको भनाइ छ ।


सम्बन्धित समाचार