Logo

५ चैत,काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपाली र युक्रेनमा बन्दी भएका नेपालीको उद्धार तथा रक्षाका विषयलाई परराष्ट्र मन्त्रालयले उच्च प्राथमिकतामा राखी सम्भव सबै उपाय अवलम्बन गरिरहेको बताएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा उपप्रधानमन्त्री श्रेष्ठले संसद्मा उठेका विषयमा स्पष्ट पार्दै रुसी वा कुनै पनि मुलुकमा नेपालीलाई सेनामा भर्ती हुन वैधानिकरुपमा नपठाइएको बताउँदै त्यहाँ पुगेर सेनामा लुकीछिपी काम गर्ने र युक्रेनमा बन्दी हुन पुगेका नेपाली नागरिकको उद्धारका लागि समकक्षी मन्त्रीसँग संवाद गरेको जानकारी गराए।

उनले रूस सरकारले त्यहाँ मृत्यु भएका नेपालीका परिवारलाई क्षतिपूर्ति दिने प्रक्रिया प्रारम्भ गरेको र सेनामा काम गरेकालाई करार रद्द गरी नेपाल फर्काउन सकारात्मक पहल भइरहेको बताए।

उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रिय हित तथा परराष्ट्र सम्बन्धका विषयमा गम्भीरता र संयमता अपनाउन आग्रह गर्दै कूटनीतिक आचारसंहितालाई प्रभावकारी रुपमा लागू गर्ने जानकारी दिए। उनले मुलुकको परराष्ट्र नीति र कूटनीतिक सम्बन्धका बारेमा राष्ट्रिय हित तथा सहमतिका आधारमा संयमतापूर्वक विचार व्यक्त गर्न सङ्घीय र प्रादेशिक सभाका शीर्ष नेता एवं सांसदलाई आग्रह गरे।

“हामीले हाम्रो देशलाई केन्द्रमा राखेर कूटनीतिक मामिलामा सहमतिका साथ अगाडि बढ्नुपर्ने आवश्यकता छ, हामीले कहीँ कतै अन्य स्वार्थ हाबी गर्न पुगेमा पुर्खाले दिएको सार्वभौम र स्वतन्त्र नेपालको रक्षामा गम्भीर चुनौती खडा हुन सक्छ”, उपप्रधानमन्त्री श्रेष्ठले भने, “त्यसैले एक स्वतन्त्र र सार्वभौम मुलुकका नागरिकका रुपमा आफूलाई प्रस्तुत गरी कूटनीतिक आचारसंहिता पालना गर्न म सबैलाई आग्रह गर्दछु ।”


सम्बन्धित समाचार