Logo

५ चैत,काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले नेपाले अहिले नै समाजवाद धान्नसक्ने/नसक्नेमा छलफल हुन आवश्यक रहेको बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पुँजीवादी क्रान्ति सफल नभएरै समाजवाद आउन नसक्ने बताए ।

आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)का सम्बन्धमा जारी छलफलका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
“नेपाली समाजमा त्यो स्तरको अर्थतन्त्र विकास भइसकेको थियो कि थिएन ? नेपालमा पुँजीवादी क्रान्ति सम्पन्न भइसक्यो त ? पुँजीवादी क्रान्ति सफल नभएर समाजवाद हुनसक्दैन । नेपालमा कहिले पुँजीवाद सफल भयो ?,” सांसद राउतले प्रश्न गरे ।

नेपालले समाजवादसँग बालविवाह गरेको र यसले आमाकै मृत्यु हुनसक्ने टिप्पणी उनले गरे । “कतै नेपालमा बालविवाह समाजवादसँग गराएको त हैन ? कम उमेरमै उहाँलाई आमा बन्न बाध्य गराइएको त हैन ? यस्तो भएमा आमाकै नै मृत्यु हुने अवस्था आउँछ,” उनले भने ।
ऋण लिएर पैसा बाँड्दैमा समृद्धि नहुने उनले बताए । “ऋण लिएर यहाँ पैसा बाँड्र्दैमा समृद्धि हुँदैन । यो आयाममा छलफल हुनैपर्छ । दुई खर्बबाट २४ खर्ब ऋण पुगेको हामीले देखिरहेका छौँ,” उनले भने, “हाम्रो मुलुकले अहिले नै समाजवाद धान्न सक्छ कि सक्दैन ? सक्दैन भने हामी निजी क्षेत्रलाई निषेध किन गरिरहेका छौँ । किन आक्रमण गरिरहेका छौँ ।”

उनले सिंगापुर, जापान, दुबई कतार एवं सोभियत संघ र चीन समेत समाजवादी मोडलले विकसित नभएको बताए । पहिले नेपाल टेलिकमको सीम कार्ड पाउन जटिल रहेको र पछि निजी क्षेत्र प्रतिस्पर्धामा आउँदा सहजै सिम कार्ड पाउन थालेको उनले स्मरण गराए ।

“जुन संस्था राज्यको नियन्त्रणमा छ, त्यो डुबेको अवस्थामा छ । वायुसेवा निगम जहिले घाटामा छ । निजी कम्पनी सधैँ नाफामा छन्,” उनले भने, “राज्यले स्वामित्वमा लिएका सबै कुरा असफल भइरहेका छन् भने हामी किन निजी क्षेत्रलाई निषेध र हरेक कुरा राज्यको स्वामित्वमा ल्याउने समाजवादको कुरा गर्दैछौँ ?”

उनले पूर्ण पुँजीवादी पनि नचाहिएको र पूरै समाजवाद पनि अहिले देशले धान्न नसक्ने टिप्पणी गरे ।


सम्बन्धित समाचार