Logo

भारतीय विदेशमन्त्री सुब्रमन्यम (एस) जयशंकरले नेपालमा गठबन्धन परिवर्तनको पूर्वाभास आफूलाई भइसकेको बताएका छन्। उनले नेपालमा बनेको नयाँ सरकारसँग मिलेर काम गर्ने पनि भनेका छन्।

लल्लनटप युट्युब च्यानलसँगको अन्तर्वार्तामा जयशंकरले नेपालसहित छिमेकीहरूसँग लाभमा आधारित सहकार्य गर्न भारतले चाहेको पनि उल्लेख गरे।

नेपालमा सत्ता समीकरण परिवर्तनबाट चकित पर्नुभयो कि त्यसको पूर्वाभास थियो प्रश्नमा जयशंकरले भनेका छन्, ‘हामीलाई थाहा थियो, उनीहरूबीच गठबन्धनमा आपसमा केही समस्या बढ्दै थिए। मैले प्रचण्डजीलाई युगान्डामा जनवरीमा भेटेको थिएँ। हामीबीच कुराकानी भयो। हामी छिमेकी मुलुकसँग लगभग हरेक दिन सम्पर्कमा रहन्छौँ। हाम्रा उत्कृष्ट राजदूतहरू छिमेकी मुलुकमा हुन्छन्। होसियारीपूर्वक घटनाक्रमलाई निगरानी गर्छन्। स्वाभाविक रूपमा केही आइपरे छिमेकीले पनि हामीलाई सुनाउँछन्।’

प्रधानमन्त्री प्रचण्ड गत माघमा असंलग्न राष्ट्रहरूको आन्दोलनको उन्नाइसौँ शिखर सम्मेलनमा भाग लिन युगान्डा गएका थिए। त्यहाँ भारतीय विदेशमन्त्री जयशंकरसँग पनि साइडलाइन कुराकानी भएको थियो। त्यस कुराकानीमा उनले नेपालको सम्भावित राजनीतिक परिवर्तनको पूर्वाभास पाएको अन्तर्वार्तामा संकेत गरेका हुन्।

युगान्डामा प्रचण्डले कांग्रेस–माओवादी गठबन्धन तोड्न चीनको दबाब छ भनेर सुनाए कि भन्ने प्रश्नमा जयशंकरको जवाफ थियो, ‘होइन, होइन, होइन। उनले भने, त्यसलाई त्यहीँ रहन दिऊँ। जहाँसम्म हाम्रो चासोको कुरा छ, अब सरकार बनेको छ। नयाँ सरकारसँग हामी काम मिलेर गर्छौं। राजनीतिको प्रकृति यस्तै हुन्छ।’

पत्रकार सौरभ द्विवेदीसँगको तीन घण्टा लामो कुराकानीमा जयशंकरले करिब १५ मिनेट नेपालबारे चर्चा गरेका छन्। छिमेकी मुलुकका नेताहरूले आफ्नो राजनीतिक लाभका लागि भारतलाई आरोपित गर्ने र त्यसलाई आफूलाई अन्यथा नलिने जयशंकरको भनाइ छ।

त्यसैले राजनीतिभन्दा अलग रहेर दुई देशबीच सहकार्य हुनुपर्ने उनको ठहर छ।

‘म आज के भन्छु भने नेपाल, मालदिभ्सलगायत जुनसुकै छिमेकीका हकमा– हाम्रो छिमेकमा राजनीति तलमाथि हुनेछ। आज एउटा पार्टीले जित्छ, भोलि अर्को पार्टीले जित्नेछ। आज एउटा गठबन्धन बन्छ, भोलि अर्को बन्नेछ। बीचमा कसैले भारतको बारेमा केही भन्नेछ। चीनको बारेमा भन्न सक्ला। अरू कुनै देशका बारेमा भन्न सक्ला। राजनीति यसैगरी चल्छ,’ जयशंकर भन्छन्, ‘समाधान के तरु समाधान राजनीतिभन्दा पर खोज्नुपर्छ। यसमा राजनीतिभन्दा परको समाधान के हो भने हामीले स्थायी सहकार्य गर्न सक्नुपर्छ। स्थायी सहकार्य के हो भन्नुहुन्छ भने तपाईंले विद्युत प्रसारणलाइन बनाउनुपर्छ, सडक, जलमार्ग, रेलमार्ग, ट्रान्जिट सिस्टम बनाउनुपर्छ।’

‘उनीहरूलाई पनि लाग्नुपर्छ, यसमा फाइदा भयो। यो भारतले गर्दै छ भन्ने खालको सन्देश गयो भने उनीहरू होसियार हुनेछन्। तर, तपाईंले यसलाई सहकार्यको रूप दिनुपर्छ। उनीहरूलाई लाभ हुनुपर्छ। उनीहरूले त्यो लाभ देख्नुपर्छ। आज त्यही भइरहेको छ,’ जयशंकर व्याख्या गर्छन्, ‘तपाईंले हेर्नुभयो भने नेपालले पहिलोपटक भारतलाई बिजुली बेचिरहेको छ। यसबाट पैसा कमाउँदै छ। यो सिंगो क्षेत्रकै लागि यो बदलाव ल्याउन सक्नुपर्छ, सहकार्य सिर्जना गर्न सक्नुपर्छ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भन्ने गरेको छिमेक पहिलो नीतिको निचोड यही रहेको उनको भनाइ छ। छिमेकी देशका राजधानीमा बस्नेहरूले भारतलाई ग्राहक सम्झिनुपर्ने गरी सहकार्य अगाडि बढाउनुपर्ने उनको तर्क छ। त्यसो हुन सके छिमेकीमा रहेको भारतप्रतिको असुरक्षाको भावना मेटिने उनको ठहर छ।

‘काठमाडौँ होस् कि कोलम्बो, जुनसुकै राजधानीमा बसेर उनीहरूले सोचिरहेका छन्, भारत मेरो ऊर्जा ग्राहक हो। त्यहाँबाट माल आउँदा मेरो बन्दरगाहलाई फाइदा हुन्छ। त्यहाँबाट पर्यटक आउँछन्। हाम्रोबाट बिरामी उपचार गराउन जान्छन्। यी फाइदा उनीहरूले देख्नुपर्छ। यदि यस्ता फाइदा पर्याप्त भए भने भारत ठूलो देश हो, भोलि के गर्ला भन्ने जुन असुरक्षाको भावना छ, त्यो जानेछ,’ उनले थपे।

नेपाल र भारतबीच खुला सीमा रहनु आफैँमा विश्वासको प्रमाण भएको उनले बताए।

उनले नेपाल ठूलो ऊर्जा निर्यातकर्ता बन्न सक्ने सम्भावना रहेको र भारतले नेपाली विद्युत् बंगलादेश निर्यातमा सहयोग गर्ने पनि बताए।

‘म त के भन्छु भने नेपाल ठूलो ऊर्जा निर्यातकर्ता बन्न सक्छ। नेपाल अरूमा निर्भर हुने जमाना बदलिन सक्छ। किनकि नेपालमा यति ठूलो जलविद्युतको सम्भावना छ। भारतमा बजार छ। उनीहरू आज बेचिरहेका छन्। नेपालबाट विद्युत् निर्यात हुने सम्भावना छ। भारतमा त भई नै हाल्छ, बंगलादेशमा बेच्न चाहन्छन् भने पनि हामी सघाउँछौँ,’ जयशंकर भन्छन्, ‘हेर्नुस्, छिमेकीलाई साथमा लिएर हिँड्नु छ। त्यहाँ राजनीति हुन्छ, त्यसलाई सम्हाल्नु छ। यस विषयमा म दिनदिनै सार्वजनिक टिप्पणी गर्न सक्दिनँ। कहिलेकाहीँ यस्तो परिस्थिति आउनेछ, त्यसबेला म भन्नेछु, थोरै सेटल हुन दिनुस्, त्यसपछि म यसलाई सम्हाल्छु।’

कालापानी, लिपुलेक र लिम्पियाधुरासहित सीमाका विषयमा सचिवस्तरमा छलफल भइरहेकै बेला नेपालले नक्सा जारी गरेकोमा जयशंकरले असन्तुष्टि जनाए।

‘यो लुकाउने कुरा होइन, वास्तवमा यसमा छलफल भइरहेको थियो विदेश सचिवको तहमा। हामीबीच विवाद छ, हामी बसेर कुरा गरिरहेका छौँ भने त्यसबेला मेरो अपेक्षा हुँदैन कि तपाईं सार्वजनिक रूपमा यस्तो गर्नुहुनेछ, जसले यस विवादलाई भड्काउनेछ। त्यतिखेर यस्तो भयो। हेरौँ अब,’ उनले भने, ‘हाम्रो छिमेकीसँग हामीले सम्बन्ध कायम राख्नुपर्छ। जहाँ कडाइ गर्नुपर्छ, त्यहाँ कडाइ पनि हुन्छ। जहाँ कुराकानी गर्नुपर्छ, त्यहाँ कुराकानी पनि गर्नेछौँ। कूटनीतिमा जेजति गतिविधि गर्न सकिन्छ, त्यो सबै हामी गर्नेछौँ। यो कसरी अघि बढ्छ हामी हेर्छौं।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी गर्ने बेलामा विदेश सचिव रहेका जयशंकरले आएर नेपाली दलहरूलाई धम्क्याएको बताए नि भन्ने प्रश्नमा दुवै हात फैलाउँदै जयशंकर जवाफ दिन्छन्, ‘तपाईंलाई लाग्छ, म कसैलाई धम्क्याउन सक्छुरु’

‘पहिलो कुरा– छिमेकीहरूको आफ्नो राजनीति पनि हुन्छ। कहिलेकाहीँ राजनीतिमा छेउछाउमा कुनै ठूलो देश छ भने उसलाई निसाना बनाउन वा बहाना बनाउन काम लाग्छ,’ जयशंकर भन्छन्, ‘आफूमा केही कमी छ भने त्यो पनि थोपर्न सकिने सुविधा हुन्छ। यही कुरा हामी छिमेकमा महसुस गर्दै छौँ।’

तर, नाकाबन्दी उनले आफ्नो र भारतको भूमिका अस्वीकार गरे। आफूले त नेपाली नेताहरूलाई यसो गर्नुस् भनेरसमेत नभनेको उनको दाबी छ।

‘संविधान र जो घटनाको कुरा गर्दै छौँ, त्यो सुरु कहाँबाट भयोरु यो भारतबाट सुरु भएको होइन नि। यो मधेसमा सुरु भयो। अवरोध भयो, त्यो उनीहरू ९नेपाल०को साइडमा थियो, हाम्रो साइडमा होइन। उनीहरूले आफ्नो राजनीतिमा निकै गम्भीर परिस्थिति सिर्जना गरे,’ उनले भने, ‘म नेपाल जानुको उद्देश्य यति नै थियो कि स्थिति झन् खराब हुनुभन्दा अघि सोच्नुस्, रोकिनुस्, विचार गर्नुस्। यो गर्नुस्, त्यो नगर्नुस् भनेर मैले कहिल्यै कुनै प्रेस्क्रिप्सन दिइनँ।’

२०७२ मा नेपालमा संविधान जारी हुनुअघि भारतीय प्रधानमन्त्रीको विशेष दूत भएर नेपाल जाँदा आफूलाई मोदीले ‘तापक्रम घटाउन’ ब्रिफ दिएर पठाएको उनको भनाइ छ।

‘त्यतिबेला मधेसमा गोली चलिरहेको थियो। एकदमै खराब हालत थियो। हामीले त्यो तापक्रम घटाउनुपर्ने थियो,’ उनले भनेका छन्, ‘तापक्रम कम गर्नुुस्। यो तपाईंहरूमा निर्भर छ। असल मित्रका रूपमा हामी यसो भनिरहेका छौँ। अन्ततः हरेक मुलुक आफैँले समाधान गर्नुपर्छ। हामी त सल्लाह मात्र दिन सक्छौँ। मित्रका रूपमा सल्लाह दिन सक्छौँ। हाम्रो स्वार्थ त हुन्छ नै। हाम्रो हितको संरक्षण गर्न जे गर्नुपर्छ, हामी त्यो गर्छौँ।’

ओलीको अभिव्यक्तिबारे फेरि सोधिएको प्रश्नमा जयशंकर उस्तै प्रकृतिको जवाफ दोहोर्‍याउँछन्।

‘राजनीतिमा मान्छेहरू धेरैथोक भन्छन्। उनीहरू त्यस्तो भन्छन् किनभने त्यसको कुनै राजनीतिक सन्दर्भ हुन्छ, राजनीतिक फाइदा हुन्छ। हाम्रो सुरुदेखि के नीति थियो भने– तपाईंहरू आपसमा बसेर सर्वसम्मति कायम गर्नुहोस्, त्यस समय जुन गोलीबारी चलिरहेको थियो, त्यो बन्द गर्नुस्। यही हो। राजनीतिमा मान्छेहरू आफ्नो फाइदाका लागि अलिकति मरमसला थपेर भन्छन्। ठिकै छ। हुन्छ त्यस्तो। राजनीतिको पाँच वर्षमा मैले पनि एउटा कुरा सिकेँ। राजनीतिमा तपाईं ज्यादा सहनशील हुनुपर्छ। कूटनीतिमा के हुन्छ भने हरेक वाक्य, हरेक शब्दमा तपाईं सटीक हुनुपर्छ। सही हुनुपर्छ। राजनीतिमा अलि ज्यादा बोल्ने अनुमति हुन्छ,’ उनले भनेका छन्।

आफ्नो सीमानजिक कुनै पनि मुलुकमा तनाव नसहने उनको भनाइ थियो।

‘आज पनि हामी छिमेकीलाई यति मात्र सल्लाह दिन्छौँ, हामी तपाईंको स्थिरता चाहन्छौँ, प्रगति चाहन्छौँ, हाम्रो शुभेच्छा छ, कहीँ सहयोग चाहिए त्यो पनि हामी दिन्छौँ,’ उनले भने, ‘तर, तनाव, अस्थिरता सिर्जना नगर्नुस्, त्यसले हामीलाई असर गर्छ। कुनै पनि ठूलो मुलुक आफ्नो सीमामा तनाव वा कष्ट होस् भन्ने चाहँदैन। यो सहजबुद्धिको कुरा हो।’

हाल छिमेकमा भारतको प्रतिस्पर्धा चीनसँग रहेको स्वीकार्दै उनले छिमेकमा भारतको हितलाई प्रभाव पार्ने गरी हुने जुनसुकै घटनामा भारतले प्रतिक्रिया जनाउने बताए।

‘छिमेकमा जेजस्ता घटनाक्रम हुन्छन्, जसले हाम्रो हितलाई प्रभाव पार्छन्, हामीले जरुर प्रतिक्रिया जनाउनुपर्छ। यसप्रति हामी सधैँ सतर्क रहनुपर्छ। यो चीनको मात्र कुरा होइन। आज मुख्य गरी चीन छ, किनकि हामीसँग प्रतिस्पर्धी शक्ति चीन हो,’ जयशंकर भन्छन्, ‘छिमेकमा आफ्नो हितका विषयमा भारतले कुनै द्विविधा राख्नुहुँदैन, हामीले आफ्नो परिप्रेक्ष्य हेर्नुपर्छ।’ (साभार नेपाल खबर)


सम्बन्धित समाचार