Logo

६ चैत,वीरगञ्ज । भारतीय काली कम्बल वाला बाबा भारत पुगेर हिजो भिडिओ लाइभमा आफू फरार भएको घटनाबारे जानकारी दिएका छन् ।भिडिओ लाइभमा काली कम्बल वाला बाबाले खासगरी तीन जनाको कारण आफू नेपालको बीरगन्जबाट कार्यक्रम स्थगित गरेर भारत आएको गम्भीर आरोप लगाएका छन् ।

नेपालको सर्वसाधारण र प्रहरीले आफ्नो कार्यक्रममा धेरै सहयोग गरेपनि तीन जनाको गुण्डागर्दीका कारण बीरगन्जको कार्यक्रम बन्द गरी आफू भारत आएको उनको गम्भीर आरोप छ ।
उनले भिडिओ लाइभमार्फत भनेका छन्,‘नेपालको कार्यक्रम बन्द गर्नुको पछाडि कारण छन्, यति धेरै मान्छे आइरहेका छन् सेवाका लगि । त्यसकारण मलाई रंगदारी ‘टेक्स’स्वरुप पैसा मागियो । एक जनाले ५ लाख र अर्कोले १० लाखसम्म पैसा मागेपछि म कार्यक्रम छोडेर आए ।’

मुख्यत्ः यही तीन जनाको कारण आफू कार्यक्रम बन्द गरेर आएको उनको भनाइ छ । तर उक्त भिडिओ लाइभमा भने बाबाले कसैको नाम खुलाएका छैनन् । उनले भनेका छन्–नाम र नम्बर छ, जरुरी प¥यो भने खुलाइदिन्छु ।
तर काली कम्बल वाला बाबाले लगाएको गम्भीर आरोप भने उनीसंगै रहेको केही तथ्यले खण्डन गरिरहेको छ । तथ्यले बाबाले लगाएको आरोपको खण्डन मात्रै गरिरहेको छैन, झण्डै नेपालबाट १६ करोड रुपैयाँ नेपाली हत्याउने बाबाको चालाकीलाई ब्रेक लगाइदिएको छ ।

कसरी थियो ठगीको योजना ?
कार्यक्रम स्थलबाट त्यसका केही भिडिओ तथा अन्य फुटेजहरु फेला परेका छन्, जसबाट सजिलै छर्लङ भइरहेको छ, बाबाको कर्तुत ।
त्यसलाई अब यसरी बुझौं ।

रेसखबरलाई बाबाका नजिककाहरुले कार्यक्रमस्थलमा बेचिरहेको केही यन्त्रको भिडिओ तथा अन्य फुटेजहरु प्राप्त भएको छ । त्यो यन्त्र हो, जुन बाबा बीरगन्जबाट फरार हुँदा उनकै हातमा त्यो देखिएको छ ।
अर्थात् बाबा यहाँबाट फरार हुँदा कार्यक्रममा बेचिन लागिएको यन्त्र आफूसंगै अटो रिक्सामा राखेर जाँदै गरेको भिडिओ फेला परेको छ, जसबाट नै प्रमाणित भइरहेको छ, बाबाको कर्तुतको वास्तविकता ।

बीरगन्जको चिनीमिल पिप्रामा चलेको शिविरमा काली कम्बल वाला बाबाले निःशुल्क उपचार गर्ने प्रचारबाजी गरेका थिए, जसअनुसार उनी तीन दिनसम्म निःशुल्क उपचार पनि गरे ।
कार्यक्रममा सहभागी एकका अनुसार तर चौथो दिनदेखि बाबासहित उनीसंगै आएका टोलीले एउटा जुक्ति लगायो, त्यो जुक्ति बमोजिम ५० हजार यन्त्र बेच्ने रणनीति बुनियो ।

यन्त्र बेचिदै (तस्बिर)
बजारमा ५० रुपैयाँको हाराहारीमा पाइने महालक्ष्मी महायन्त्रमको बाबाको टोलीले एक हजार भारतीय रुपैयाँमा बेच्न थाल्यो । बाबाको हातमा देखिएको त्यही यन्त्र १ हजार भारु अर्थात् १ हजार ६ सय नेपालीमा ५० हजार जनालाई बेचेर ८ करोड असुल्ने तयारी थियो ।
(भिडिओ)…


योसंगै हवन गर्नेहरुसंग पुजन साम्रगीको नाममा ११ सय भारु अर्थात् नेपाली २ हजार रुपैयाँ, हवन गर्नेहरुसंग शुल्क लिने बाबा नजिकका टोलीले चार्ज तोक्यो, जसअनुसार गोरखपुरबाट आएका एक भक्तले आफूले १ हजार १ सय भारु रुपैयाँ तिरेको समेत भिडिओ प्राप्त भएको छ ।

त्यसलाई आधार मान्ने हो भने ५० हजारबाट यहाँ पनि झण्डै ८ करोड नेपाली रुपैयाँ ठग्ने बाबा नजिकका टोलीको योजना रहेको देखिन्छ । अर्थात् यी दुइवटै माध्यमले करिब १६ करोड नेपाली रुपैयाँ ठग्ने बाबाको मनसायको पर्दाफास भएको तथ्यले बोलिरहेको छ ।

बाबाको ठगी धन्दाको कर्तुतबारे तथ्यसंगै प्रशासन जानकार रहेको पाइन्छ । चौथो दिनदेखि बाबाले यन्त्र र हवनको नाममा पैसा उठाउन थालेको जिल्ला प्रशासनसहित जिल्ला प्रहरीमा गुनासो आएपछि प्रशासन सुरुमा ती गुनासो प्रमाणित गर्न जुक्ति अपनायो ।

पर्साका सिडिओ दिनेश सागर भुसाल भन्छन्,‘यही रणनीति अन्तर्गत प्रशासनले सुरुमा पैसाको कारोवार भइरहेको भिडिओ खिच्न थाल्यो, भिडिओ लिएको कुरा बाबालाई थाहा भयो । त्यसपछि कानुनी कारबाहीबाट बच्नका लागि बाबा एकाएक फरार भए ।’ तर त्यसको बाबजुद पनि बाबाले लगाएको गम्भीर आरोपमाथि प्रहरी प्रशासनले अनुसन्धान चलाइरहेको प्रजिअ भुसालको बताउँछन् । बाबासंग आएका तीन जना सहयोगीलाई नियन्त्रणमा लिएर अनुसन्धान चलिरहेको उनको भनाइ छ ।


सम्बन्धित समाचार
भर्खरै