६ चैत,सेढवा । वर्तमान समयमा कृषि परियोजनाका लागि विश्वकर्मा समुदायको पूर्खौली पेश संकटमा परेको छ । विभिन्न प्रकारका आधुनिक मेशिन तथा औजारको माग बढेसँगै उनीहरुको पूर्खौली पेशा संकटमा परेको हो ।
ट्याक्टरको प्रयोग गरी फाली तथा रोटाभेटरर्सले खेतको जोताई कार्य र धान गँहु भित्र्याउन हार्भेस्टर तथा थ्रेसर लगायतका मेशिनहरुको प्रयोग बढ्दा परम्परागत औजारको माग घट्दो छ । जसकारण, विश्वकर्मा समूदायको लोहसारी (फलामको औजार उत्पादन तथा मर्मत गर्ने स्थान) लोपोन्मु्ख बनेको हो ।
घरायसी तथा खेती किसानी सामान्य कार्यका लागि प्रयोग हुने, हसिया, खुर्पी, खुर्पा कोदालो, बन्चरो तथा खुकुरी बनाउन तथा मर्मतका लागि मात्र सर्वसाधारणहरु लोहसारी आउने जीराभवानी गाउँपालिका वडा नं ३ नौकाटोलाका प्रेम बिश्वकर्माले बताए । उक्त पेशामा काम गरे वापत पाउने ज्याला निकै कम भएकोले विश्वकर्मा समूदायका मानिसहरुले यो पेशा छाड्दै गएको उनको भनाइ छ ।
परम्परागत चलन अनुसार वार्षिक रुपमा तोकिएको प्रतिपरिवार १ मन (४० केजी) धानबाट परिवारको खर्च धान्न नसक्दा समूदायका नयाँ बशंज अन्य पेशातर्फ आकर्षित भएको उनी बताउँछन् । यस पेशामा आय अत्यन्तै न्यून भएकाले अबका सन्तती अन्य पेशा रोज्दै शहर तथा बैदेशिक रोजगारीमा जाने गरेको उनको जिकिर छ । त्यस्तै जगरनाथपुर गाउँपालिका वडा नं १.पाण्डेपुरका अनन्त ठाकुर लोहारले पूर्खौली पेशा जोगाउनै लागि काम गरेको जनाए ।
तर यो पेशाबाट जिविकोपर्जन गर्न भने सकस हुने बताउँछन्। बढ्दो आर्थिक मन्दी र महंगाइका तथा न्यून आम्दानीका कारण यस पेशाबाट मानिसहरु पछि हटेको उनको भनाइ छ । लोहसारीमा फलाम पिट्नु कठिन काम भएको तथा प्रयोग हुने कोइला महंगो भएको र ज्यालादारी सन्तोषजनक नहुँदा आफ्ना छोराछोरीहरूलाई अन्य पेशामा लगाउने ठाकुरले बताए ।
पूर्खौली पेशा जोगाउन आफूले बिहान फलाम पिट्ने, फलामका औजार मर्मत गर्ने गरेको उनको कथन थियो । उनी भन्छन् ‘पेशा जोगाउन भएपनि बिहान नौ बजेपछि सिकर्मीको काम गर्न ठोरी गाउँपालिकामा रहेको फर्निचरमा काम गर्छु, यसले दैनिकी चलाउन भने पुग्दैन, त्यहि कारण छोराछोरीलाई भने अन्य काम लगाउने गर्दछु ।’