Logo

७ चैत, काठमाडौं । साना व्यवसायीको सुनको कोटा दुरुपयोग भएको भन्दै सार्वजनिक रुपमा विरोध जनाएका रत्न तथा आभुषण संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्तालाई संघबाट कार्वाही गर्न चैत ९ गते बैठक राखिएको छ ।

संघका महासचिव जयराम पाण्डेयले जारी गरेको पत्रमा संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्तालाई संघको तर्फबाट विभिन्न समयमा सोधिएको स्पष्टीकरण र भएका छलफलका सन्दर्भमा प्रकृया अगाडी बढाउन बैठक बोलाइएको उल्लेख छ ।

त्यसैगरी बैठकको एजेण्डाको रुपमा राखिएको अर्को प्रस्तावमा संघका सदस्यले आफूखुसी नेग्जाको नामबाट ह्वाट्सएप ग्रुप आफै नियन्त्रणमा संचालन गरेकोले उक्त ग्रुपलाई कसरी व्यवसायीक र प्रभावकारी बनाउने भन्ने बिषय राखिएको छ ।

नेग्जाका करिव ३ सय सदस्य आवद्ध रहेको नेग्जाको ग्रुपमा संघका पदाधिकारी र सदस्यहरुले संघ भित्र भएको बेथितिका बिषय उठाउने गरेका थिए । ह्वाट्सएप ग्रुपमा संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले साना व्यवसायी र कालिगढले भोग्नु परेको समस्या र त्यसमा संघका केही जिम्मेवार पदाधिकारीले कोटा दुरुपयोग गरेको बिषयमा विचार व्यक्त गर्दै आएका थिए ।

ह्वाट्सएप ग्रुपमा राखिएको बिषय सार्वजनिक रुपमा संचारमाध्यममा पुगेको र त्यसलाई संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले बाहिर ल्याएको आरोप लगाउदै उनी माथि कार्वाही गर्ने नियतले संघको १० औं कार्यसमितिको बैठकमा दुई वटा मात्र प्रस्ताव राखिएको एक सदस्यले बताए ।

सुनको कोटा दुरुपयोग गरी केही जिम्मेवार पदाधिकारीले साना व्यवसायी र कालिगढहरुको अधिकार कुण्ठित पारेको बिषयलाई संघको ग्रुप भित्र उठाएपनि कुनै सुनुवाई नभएपछि बाहिर संचार माध्यममा जान संघका जिम्मेवार पदाधिकारीले बाध्य बनाएको गुप्ताको भनाई छ ।

नेपाल रत्न तथा आभुषण संघ भित्रको बेथितिका बारेमा कुरा उठाउदा आफ्नो ज्यान असुरक्षित रहेको भन्दै गुप्ताले गत फागुन ११ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा शान्ति सुरक्षाका लागि उजुरी दर्ता गराएका छन । त्यसैगरी गत फागुन १० गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा संघका ४ जना पदाधिकारी विरुद्ध कोटाको सुन दुरुपयोग गरी भारत तर्फ सुनको तस्करी हुने गरेको भन्दै कार्वाहीको माग राख्दै किटानी निवेदन दर्ता गराएका थिए ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र सिहं राठौरका अनुसार नेग्जाका वरिष्ठ उपाध्यक्षले आफ्नै कमिटिमा रहेका अध्यक्ष सुमनमान ताम्राकार लगायत ४ जना पदाधिकारीले सुनको कोटा दुरुपयोग गरी भारत तर्फ अवैध कारोवार गरेको भन्दै अनुसन्धान गर्न उजुरी दिएको बताए । सुन व्यवसायीका विरुद्ध उजुरी परेको छ, त्यसमा अनुसन्धान भइरहेको एसएसपी राठौरले जानकारी दिए ।

यता गुप्ताले सुन तस्करी जाँचबुझ आयोगमा पुगेर सुनको तस्करी र कोटा प्रणालीको कारण साना व्यवसायीले भोग्नु परेका समस्याका बारेमा लिखित बयान दिएका छन् । उनले सुन व्यवसायीको हतहितका लागि काम गर्ने भनि खोलिएका संघ र महासंघका पदाधिकारीले साना व्यवसायीको कोटाको सुन समेत दुरुपयोग गरी अवैध कारोवारमा संलग्न भएको आरोप लगाएका छन् ।

सुन व्यवसायीसँग सरोकार राख्ने सुनचाँदी व्यवसायी महासंघ र नेपाल रत्न तथा आभुषण महासंघका पदाधिकारी सुन तस्करीमा संलग्न रहेको भन्दै लिखित उजुरी परेपछि अप्ठारोमा परेका नेपाल रत्न तथा आभुषण संघका अध्यक्ष सुमनमान ताम्राकारले वरिष्ठ उपाध्यक्ष गुप्तालाई कार्वाही गरी सुन तस्करी प्रकरणलाई ढाकछोप गर्ने प्रकरणमा लागेको बुझाई साना व्यवसायीहरुको छ ।

वरिष्ठ उपाध्यक्ष गुप्तालाई कार्वाही गर्न संघका उपाध्यक्ष निर्मलज्योति तुलाधर, शक्ति कुमार बेगानी, सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्य, उपाध्यक्ष पवन कुमार सोमानीले नेपाल रत्न तथा आभुषण संघका अध्यक्ष सुमनमान ताम्रकारलाई दवाव दिदै आएका छन् । सुनको अवैध कारोवारमा जोडिएका व्यक्तिहरुको प्रेसरमा उनलाई संघको जिम्मेवारीबाट हटाउन खोजिएको एक सदस्यले बताए ।

संघका वरिष्ठ उपाध्यक्ष गुप्ताले आफूले उठाएको सवालको जवाफ दिन नसक्नेहरुले कार्वाहीको धम्की दिएको बताए । नेपालको संविधानले स्वतन्त्र वोल्न र आफ्नो कुरा निर्धक्क राख्न अधिकार दिएको छ, मैले उठाएको प्रश्नको उत्तर दिन सक्ने हैसियत नभएपछि संघको जिम्मेवारीबाट हटाउन खोजेको हुन गुप्ताले भने ।

संघको जिम्मेवारीबाट हटाएको खण्डमा आफू स्वतन्त्र रुपमा सुनको दुरुपयोग गरेर अवैध कारोवारमा लगेका विरुद्ध कार्वाहीलागि सरकारका निकायलाई सहयोग गर्ने गुप्ताको भनाई छ । कुन पदाधिकारीले कसरी सुनको कोटा दुरुपयोग गरेको छ, त्यसको सरकारी गवाही बनेर कार्वाहीको लागि राज्यका निकायमा पुग्न आफूलाई बाटो खुल्ला हुने गुप्ताले बताए ।

वरिष्ठ उपाध्यक्ष गुप्ताले सुन तस्करीमा लागेका संघका पदाधिकारीहरु सुन माफियाको रुपमा काम गरेको ठोस प्रमाण सहित देशव्यापी अभियान संचालन गर्ने योजनामा आफू लाग्ने बताए । साना तथा कालिगढहरुको अधिकार कुण्ठित पार्नेहरुलाई कानूनको कठघारामा उभ्याउनु पर्छ, गुप्ताले रेसखवरसँग भने अब म त्यहीँ अभियानमा लाग्छु ।


सम्बन्धित समाचार