Logo

८ चैत,सेढवा । लामो समयपछि बुधबार परेको पानीले जंगलमा लागेको डढेलो निभाएको छ । पर्सा राष्ट्रिय निकुञ्ज, निकुञ्ज अन्तर्गतका सामूदायिक वन तथा डिविजन वन कार्यालय पर्सा अन्तर्गतका वनमा लागेको डढेलो बुधबार बिहानदेखि बेलुकासम्म निरन्तर परेको पानीले निभाएको हो ।

डिविजन वन कार्यालय पर्साका सूचना अधिकृत संजय चौरसियाले राष्ट्रिय वनको करिब ५५ हेक्टर क्षेत्रफलमा डढेले लागेको बताए । उनका अनुसार राष्ट्रिय वनको बसन्तपुर, रंगपुर, मनवा र बढनियार क्षेत्रमा डढेलो लागेको थियो । पर्सा राष्ट्रिय निकुञ्जका वन संरक्षण अधिकृत रामचन्द्र खतिवडाका अनुसार राजमार्ग आसपास लागेका डढेलो बुधबारको पानीले निभाएको हो । निकुञ्जको भित्री भागको जंगलमा भने डढेलो नलागेको उनको भनाइ छ ।

महुवन आवातजावत हुने क्षेत्रमा डढेलो लागेको थियो । आगो सर्न नदिन ठाँउठाँउमा फायर लाइन निर्माण गरिएको उनको जिकिर छ । पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतका विभिन्न उपभोक्ता समितिको वनमा लागेको डढेलो समेत वर्षका कारण निभेको छ । सुनाखरी र पञ्चमुखी उपभोक्ता समिति अन्तर्गतका काठमाण्डौटोल, शान्तिनगर, क्षेत्रीलाईन, गडुवालाइन, बाघमोर्चा लगायतका सामूदायिक वनमा लागेको डढेलो निभेको सुनाखरी वन उपभोक्ता समिति सुवर्णपुरका सचिव जीवन श्रेष्ठले जानकारी दिए ।

यस्तै लामो अन्तरालपछिको वर्षाका कारण किसानले लगाएको समेत राम्रो फाइदा पुगेको बताइएको छ ।


सम्बन्धित समाचार