Logo

८ चैत,वीरगञ्ज । पर्सा प्रहरीले नजिकिदैँ गएको होली पर्व सभ्य तथा शिष्ट रुपले खेल्न अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले १४ बुँदे अनुरोध पत्र जारी गर्दै यस्तो अनुरोध गरेको हो ।

पर्साका प्रहरी नायब उपरिक्षक सूचना अधिकारी कुमार बिक्रम थापाले होली पर्वलाई सभ्य, शिष्ट, स्वास्थ्यकर र मर्यादित तवरले मनाउन आग्रह गरे । उनले आत्मीय रुपमा नजिक भएका व्यक्ति वा आफन्तहरूसंग मात्र होली खेल्न अपिल गरे । यसैगरी होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न÷नगराउन, अपरिचित मानिसहरूको समूहमा होली नखेल्न पर्सा प्रहरीको आग्रह छ । कसैको ईच्छा विपरीत रंग, लोला, मोसो, केमिकल र फोहोर पानी नलगाउन तथा नछ्याप्न जिल्ला प्रहरी कार्यालयउ पर्साले आग्रह गरेको छ ।

यस्तै महङ्गा गरगहना लगाएर होली नखेल्न, अपरिचित मानिसले दिएको कुनै पनि खानेकुरा नखान, ट्राफिक नियमको पुर्ण रूपले पालना गर्न, मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारी साधन नचलाउन, अशक्त, महिला, बालबालिका, जेष्ठ नागरिक तथा पर्यटकहरूलाई कुनै पनि प्रकारका दुव्र्यवहार नगर्न प्रहरीले सबैमा अनुरोध गरेको हो ।

यसैगरि प्रहरीले जारी गरेको अनुरोध पत्रमा रेलिङ नभएको छत तथा सडकमा होली नखेल्न, ध्वनी प्रदुषण हुने गरी मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने गरी चर्को आवाजमा डिजे नबजाउन, भिडभाड हुने स्थानमा पकेटमारी तथा लुटपाट   जस्ता घटना बढी हुने हुँदा सावधान रहन भनिएको छ ।

कुनै पनि आपराधिक गतिविधी हुन लागेको वा भएको थाहा भएमा ततकाल नेपाल प्रहरीको हटलाईन नं. १०० वा नजिकको प्रहरी कार्यालयहरूमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।

नियम विपरित कार्य गर्ने÷गराउने जो कोहीलाई पनि कानुन बमोजिम कारवाही गरिने पत्रमार्फत चेतावनीसमेत दिइएको छ ।


सम्बन्धित समाचार