Logo

९ चैत,काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडिने भएको छ।

जिल्ला अदालत काठमाडौंले पहिलो पटक दिएको ४ दिनको म्याद बिहीबार सकिएको छ।बिहीबार नै म्याद सकिए पनि उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धा ब्युरो (सीआईबी)ले अदालत नलैजाने भएको हो।

हाजिरी जमानीमा छाड्नका लागि उनको फाइल सरकारी वकिल कार्यालयमा पठाइसकिएको सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए।सरकारी वकिल कार्यालयको रायपछि सीआईबीमा कागज गराएर महरालाई परिवारको जिम्मा लगाइने भएको छ।

पूर्वसभामुखसमेत रहेका महरालाई सुन तस्करी प्रकरणको अनुसन्धानको क्रममा सीआइबीले सोमबार कपिलवस्तुबाट पक्राउ गरेको थियो।त्यसपछि अदालतकै आदेशअनुसार महरा अहिले उपचारका लागि नर्भिक अस्पतालमा छन्।

इलेक्ट्रिक सिगरेट (भेप) मा राखेर ९ किलो सुन तस्करी गरेको अभियोगमा नेता महराका छोरा राहुल महरा पहिले नै पक्राउ परेका थिए।भेपको ९ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग सम्पर्क देखिएको र उक्त सुन विमानस्थल भन्सार कार्यालयबाट छुटाउन कर्मचारीलाई टेलिफोन गरेको पाइएपछि महरालाई पक्राउ गरिएको थियो।

यसअघि नै महराका छोरा राहुलसहितलाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरिएको थियो। उनीहरू अहिले पनि पुर्पक्षका लागि थुनामा छन्।तर कृष्णबहादुर महरालाई प्रतिवादी नबनाएको भन्दै सुनको अवैध पैठारी निकासीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनपछि महरालाई पक्राउ गरिएको थियो।

त्यसैदिन काठमाडौं ल्याएर सीआईबी अनुसन्धानका लागि अदालतमा ७ दिन म्याद माग गरेको थियो।तर जिल्ला अदालत काठमाडौंले पहिलो पटक ४ दिन मात्रै म्याद दिँदै उनमा स्वास्थ्य समस्या देखिएकाले उपचारको समेत व्यवस्था गर्न सीआईबीलाई निर्देशन दिएको थियो।

अदालतको निर्देशनपछि महरालाई हिरासतमा नराखी नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।अस्पतालबाटै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा लगेर महराको बुधबार र बिहीबार बयान गराइएको थियो।

बयान सकिएको र थप अनुसन्धानका लागि हिरासतमै राख्न आवश्यक नदेखिएकाले उनलाई हाजिरी जमानीमा राखेर मुद्दाको अनुसन्धान अगाडि बढाउने सीआईबीले जनाएको छ।यसअघि बयानका क्रममा महराले सुन तस्करीमा संलग्न चिनियाँ नागरिकलाई टेलिफोन गरेको स्वीकार गरे पनि तस्करीमा आफ्नो कुनै संलग्नता नरहेको बयान दिएका छन्।

उनले इन्कारी बयान दिएको र अन्य प्रमाण पनि फेला नपरेको सीआईबी स्रोतले जनाएको छ।

न्यायाधीश डिल्ली आचार्य नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले सुन तस्करी प्रकरणमा महरामाथि पनि कारबाही गर्न सिफारिस गरेको थियो। गत शुक्रबार मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाटसमेत बाहिरिएको अवस्थामा राजस्व अनुसन्धान विभागले साढे ६१ किलो सुन बरामद गरेको थियो। यो प्रकणमा उच्च तहका नेता, कर्मचारीदेखि व्यापारीहरूसमेतलाई आयोगले दोषी देखाएको थियो। त्यस्तै सुन तस्करीको अर्को प्रकरणमा पनि महरासहित अनुसन्धानमा तानिएका थिए।


सम्बन्धित समाचार