Logo

१३ चैत,वीरगञ्ज । होली पर्वमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा पर्सा प्रहरी तथा ट्राफिक प्रहरीले सयभन्दा बढी मोटरसाइकललाई कारबाही गरेको छ । वीरगञ्ज तथा जिल्लाका अन्य ठाउँमा ट्राफिक नियम उल्लंघन गरेको भन्दै प्रहरी र ट्राफिक प्रहरीको छुट्टाछुट्टै टोलीले हिजो (सोमबार) मात्र १ सय २० मोटरसाइकल नियन्त्रणमा लिइ कारबाही गरेको विवरण सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले ट्राफिक नियम उल्लंघन गरेका ७० वटा मोटरसाइकल नियन्त्रणमा लिई कारबाही गरेको जनाएको छ । प्रहरी प्रवक्ता कुमारविक्रम थापाले मोटरसाइकलमा तीन जना बस्ने, हेल्मेट नलगाउने, बढी स्पीडमा गुडाउने, चलाउनेसहितका ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई मात्र कारबाही गरिएको जनाए ।

योबाहेक २७ जना मादक पदार्थ सेवन गर्नेलाई नियन्त्रणमा लिएर कारबाही गरिएको पर्सा प्रहरी प्रवक्ता थापा बताउँछन् । हिजो मापसेमा पक्राउ परेका अधिकांशलाई जरिवाना तिराएर आज छाँडिएको उनको भनाइ छ । योबाहेक केही ठाउँमा झैझगडा समेत भएको जानकारी आएको प्रहरीले जनाएको छ । तर ती सबै सामान्य खाले झैझगडा भएकोे प्रहरी प्रवक्ता थापाले जनाए ।

यता ट्राफिक प्रहरी कार्यालयले गरेको विभिन्न ठाउँको चेकिङमा ४८ वटा मोटरसाइकल ट्राफिक नियम उल्लंघन गरेको आरोपमा पक्राउ गरेको जनाएको छ । ट्राफिक प्रहरीका अनुसार ३८ वटा मोटरसाइकललाई मादक पदार्थ सेवन गरेको आरोपमा पक्राउ गरिएको थियो भने १२ वटा मोटरसाइकल अन्य नियम उल्लंघन गरेको आरोपमा पक्राउ गरेको हो ।

यसैगरी ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेको आरोपमा १२ जना र तीन जना भन्दा बढी बसेर मोटरसाइकल चलाएको आरोपमा १० जना गरी २२ जना पक्राउ परेका थिए । पक्राउ परेकाहरु २४ घण्टे चीट काटेर छोडिएको ट्राफिक प्रहरी पर्साले जनाएको छ ।


सम्बन्धित समाचार