Logo

फाइल फोटो

१५ चैत,वीरगञ्ज । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ । आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले पहिलो दिनको परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ ।

आजबाट सुरु भएको एसईई परीक्षा २७ गतेसम्म चल्ने छ । परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र तोकिएका छन् । सबैभन्दा धेरै केन्द्र काठमाडौंमा (१२७) र सबैभन्दा कम मनाङ र मुस्ताङमा (एक–एक) वटा छन् । एसईई परीक्षाका लागि सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थीले फारम भरेका थिए ।

यसवर्षको एसईई परीक्षामा जापानको टोकियोमा रहेको एभरेष्ट इन्टरनेसनल स्कुलबाट पनि १५ छात्रा र ८ छात्र गरी जम्मा २३ जना परीक्षार्थीहरु सहभागी भएका छन् । विगतका एसईई परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत अंक ल्याउनुपर्ने प्रावधान रहेकामा यस वर्षदेखि विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनैपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । ३५ प्रतिशतभन्दा कम अंक ल्याएमा कक्षा ११ मा भर्ना हुन पाइँदैन ।

त्यस्ता परीक्षार्थीहरुले मौका परीक्षा भने दिन पाउने छन् । मधेश प्रदेशका जिल्लाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ८१ हजार ७६८ जना विद्यार्थी सहभागी हुँदै छन् । चैत १५ गते अर्थात् बिहीबारदेखि सुरु भइरहेको एसइईका लागि सम्पूर्ण तयारी पूरा भइसकेको शिक्षा विकास निर्देशनालय जनकपुरधामले जनाएको छ । प्रदेशभरि २९५ वटा परीक्षा केन्द्र तोकिएको छ ।

परीक्षालाई मर्यादित, अनुशासित र निष्पक्ष रूपमा सम्पन्न गराउन २९५ केन्द्राध्यक्ष, ५३० सहायक केन्द्राध्यक्ष, चार हजार ९२ निरीक्षक, ८०७ परीक्षा सहायक, एक हजार ६३९ जना कार्यालय सहयोगी गरी कुल सात हजार ६५८ जना कर्मचारी खट्ने व्यवस्था मिलाइएको छ । प्रदेशमा सबभन्दा बढी धनुषाबाट विद्यार्थीले एसइईका लागि फाराम भरेका छन् ।

यस जिल्लामा प्रविधिकतर्फका ४८९ जना गरी १२ हजार २१४ जना विद्यार्थीले एसइई दिने शिक्षा निर्देशनालयले जनाएको छ । यहाँ ४३ वटा परीक्षा केन्द्र तोकिएको छ । शिक्षा विकास निर्देशनालय जनकपुरका निर्देशक दिलीपकुमार ठाकुरका अनुसार सबभन्दा कम सप्तरीमा नौ हजार ३२३ जना विद्यार्थी एसइईमा सहभागी हुने छन् ।

सिरहाबाट १० हजार ९२३, महोत्तरीबाट नौ हजार ४३१, सर्लाहीबाट १० हजार ८९६, रौतहटबाट नौ हजार ४६९, बाराबाट नौ हजार ४४४ र पर्सामा १० हजार २५३ जना परीक्षार्थीले एसईई दिदैछन् ।


सम्बन्धित समाचार