Logo

१५ चैत, काठमाडौँ । सुन तस्करी प्रकरणमा संलग्न भनीएका जीवन चलाउनेसँग करिब १ दर्जन प्रहरी अधिकारीहरु नियमितरुपमा सम्पर्कमा रहेको पाइएको छ । चलाउनेको कल डिटेल्स रिपोर्टमा करिब एक दर्जन प्रहरी अधिकारीसँग चलाउनेको नियमित सम्पर्क भएको पाइएको हो ।

चलाउनेको सम्पर्क सबैभन्दा बढी पर्साका एसपी कुमोध ढुङ्गेलसँग भएको रातोपाटीले लेखेको छ । तत्कालीन समयमा जिल्ला प्रहरी परिसर काठमाडौँमा रहेका एसपी ढुङ्गेलसँग विगत ९ महिनाको अवधिमा चलाउनेले ४४ पटक कुराकानी गरेको पाइएको रातोपार्टीले उल्लेख गरेको छ ।

एआईजी श्यामलाल ज्ञवालीसँग समेत चलाउनेको कुराकानी भएको प्रमाण प्राप्त भएको छ । चलाउनेले एआईजी श्यामलाल ज्ञवाली, डीआईजी दुर्गा सिंह, एसपीहरू कुमोध ढुङ्गेल, सीताराम रिजाल, रवीन्द्र रेग्मी र गौतम केसी, डीएसपीहरू रुगम बहादुर कुँवर, दीपक खड्का, गंगा पौडेल, पूर्णिमा चन्द र अनिल ठकुरीसँग नियमित कुराकानी भएको देखिएको हो ।

जीवन चलाउनेले प्रयोग गर्ने गरेको मोवाइल नम्बरबाट एक दर्जन प्रहरी अधिकारीसँग नियमित कुराकानी भएको पाइएको हो । चलाउनेले आफ्नो मोबाइल नम्बरबाट एआईजी ज्ञवालीको मोबाइल नम्बरमा एकपटक कुराकानी गरेको देखिएको छ ।

चलाउनेले आफ्नो मोबाइल नम्बरबाट एआइजी ज्ञवालीको मोबाइल नम्बरमा २०८० असार १८ गते रातको ८ः३० मा करिब २ मिनेट कुराकानी भएको पाइएको छ । यद्यपि कुराकानी के विषयमा भएको हो भन्ने विषयमा भने न जीवनले बताएका छन् न एआइजी ज्ञवालीले यस विषयमा मुख खोलेका छन् ।

त्यसैगरी चलाउनेले आफ्नो मोबाइल नम्बरबाट डीआइजी दुर्गा सिंहसँग दुई पटक कुराकानी गरेको पाइएको छ । त्यस्तै एसपी सीताराम रिजालसँग पनि चलाउनेले ७ पटक मोबाइल फोन मै कुराकानी गरेको पाइएको छ । एसपी रिजालकी श्रीमतीसँग चलाउनेले भाइटिका लगाएको कारण चलाउनेले रिजाललाई भिनाजु भन्ने गर्छन् । यद्यपि एसपी रिजालले चलाउनेलाई मिटरब्याजमा रकम लगानी गरेको आरोप लाग्ने गरेको छ ।

त्यसैगरी एसपीहरू रवीन्द्र रेग्मी र गौतम केसीसँग पनि चलाउनेले एक–एक पटक कुराकानी गरेको पाइएको छ । एसपी रेग्मी हाल अपराध महाशाखामा कार्यरत छन् भने एसपी गौतम केसी हाल जिल्ला प्रहरी कार्यालय धादिङको प्रमुख छन् ।

त्यसैगरी सुन तस्करी प्रकरणका प्रतिवादी जीवन चलाउने पाँच डीएसपीसँग नियमित संवाद गरेको पाइएको छ ।

चलाउनेले डीएसपी रुगम बहादुर कुँवरको मोबाइल नम्बरमा ३५ पटक कुराकानी गरेको पाइएको छ । डीएसपी रुगम बहादुर कुँवरलाई सुन तस्करी जाँचबुझ आयोगले चलाउनेसँग सम्बन्ध के हो भनी सोधपुछसमेत गरी कागज गराएको थियो ।

त्यसैगरी अर्का डीएसपी दीपक खड्कासँग २६ पटक कुराकानी भएको पाइएको छ । चलाउने र खड्काको चिनजान र सम्बन्ध पनि पुरानो नै रहेको दाबी गरिएको छ । खड्काको पैसा चलाउनेले मिटर ब्याजमा चलाउने गरेको र अहिले पनि खड्काको ५० लाख रुपैयाँ चलाउनेले चलाएको र उक्त रकम अझै तिर्न बाँकी रहेको बताइएको छ । चलाउनेको भाञ्जाको नामबाट जारी भएको ५० लाख रुपैयाँको चेकबुक समेत डीएसपी खड्कासँग रहेको बताइएको छ ।

त्यस्तै अर्का डीएसपी गंगा पौडेलसँग पनि चलाउनेको नियमित सम्पर्क देखिएको छ । चलाउने र पौडेलबिच ७ पटक कुराकानी भएको कल डिटेल्स रिपोर्टमा देखिएको रातोपाटीले लेखेको छ ।

प्रहरीसँग नजिक देखिएका र अस्वाभाविक सम्पर्क देखिएका अन्य प्रहरी अधिकृतसँग पनि आयोगले सोधपुछसम्म गरेको थिएन ।

त्यस्तै अर्का डीएसपी पुर्णिमा चन्द र प्रतिवादी जीवन चलाउनेबिच पाँच पटक कुराकानी भएको पाइएको छ । चन्द र चलाउनेबिच पाँच पटक कुराकानी भएको सीडीआर रिपोर्टमा देखिएको छ । चन्द हाल प्रहरी वृत्त स्वयम्भूको प्रमुख छिन् ।

त्यस्तै अर्का डीएसपी अनिल ठकुरीसँग पनि चलाउनेको ५ पटक नै कुराकानी भएको कल डिटेल्स रिपोर्टमा देखिएको छ । ठकुरी र चलाउनेबिच ५ पटक कुराकानी भएको देखिएको हो ।

नेपाल प्रहरीका सई शिव पोखरेलसँग पनि जीवन चलाउनेले कुराकानी गर्ने गरेको पाइएको छ । चलाउने र पोखरेलबीच एक पटक कुराकानी भएको पाइएको हो ।

चलाउनेविरुद्ध मुद्दा दायर हुनुभन्दा अगाडिसम्म प्रहरीका अधिकृतहरूले चलाउनेसँग नियमित सम्पर्क गरिरहेको हो । तर चलाउनेविरुद्ध मुद्दा दायर भएपछि भने चलाउनेको उक्त मोबाइल नम्बर नै स्वीच अफ भएकाले कुराकानी गरेको पाइएको छैन ।

उच्च तहका प्रहरी अधिकारीदेखि करिब एक दर्जन प्रहरी अधिकृतसँग चलाउनेको नियमित र अस्वाभाविक सम्पर्क भएको पाइएपनि सुन तस्करीको जाँचबुझ गर्न गठित आयोगले भने डीएसपी रुगम बहादुर कुँवरसँग मात्रै सोधपुछ गरी कागज गराएको थियो । प्रहरीसँग नजिक देखिएका र अस्वाभाविक सम्पर्क देखिएका अन्य प्रहरी अधिकृतसँग पनि आयोगले सोधपुछसम्म गरेको थिएन ।

उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा गठित सुन तस्करी जाँचबुझ आयोगले कारबाहीका लागि सिफारिस गरेका चार प्रहरी अधिकृतमध्ये रुगमबहादुर कुँवर पनि एक थिए । आयोगले प्रतिवेदनमा चलाउनेलाई भगाउनमा कुँवरले सहयोग गरेको र उनीसँग नियमित सम्पर्क देखिएको आरोप लगाएको छ ।

आयोगले आफ्नो प्रतिवेदनमा चलाउने र डीएसपी कुँवरबिच २ हजार ४ सय पटक कुराकानी भएको दाबी गरेको भएपनि कल डिटेल्स रिपोर्टमा भने ३५ पटक मात्रै कुराकानी भएको पाइएको छ । आयोगले सबैभन्दा बढी सम्पर्कमा रहेका एसपी कुमोध ढुङ्गेल र बारम्बार सम्पर्कमा रहेका डीएसपी दीपक खड्कासँग भने सोधपुछसम्म नगरेको आजको रातोपाटीले समाचार लेखेको छ ।


सम्बन्धित समाचार