Logo

२१ चैत,काठमाडौँ । गर्मीयाम सुरु भएसँगै डेङ्गुको जोखिम पनि बढ्न थालेको छ । गर्मी बढेसँगै मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टेले डेङ्गुको सङ्क्रमण गराउने भएकाले जोखिम बढ्दै गएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा.गोकर्णप्रसाद दाहालले गर्मीसँगै पानी पनि पर्न सुरु हुने भएकाले डेङ्गुको जोखिम बढ्ने बताउनुभयो । डेङ्गुको सङ्क्रमणबाट बच्न सचेतना अपनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । “गर्मीसँगै पानी सङ्कलन गरेर राख्ने गरिन्छ । यसरी सङ्कलन गरिएको पानीमा लामखुट्टेले फुल पार्दछ । सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई टोक्ने गर्दछ”, डा.दाहालले भन्नुभयो ।

उहाँले जोखिम हुने ठाउँको पहिचान गरेर लामखुट्टे मार्न अभियान सञ्चालनका लागि स्थानीय तहलाई निर्देशन दिइसकिएको बताउनुभयो । “माघयता डेङ्गु देखिएका ३३ स्थानीय तहलाई पत्राचार गरेर लामखुट्टे खोज र नष्ट अभियान सञ्चालन गर्न निर्देशन दिएका छौँ”, डा.दाहालले भन्नुभयो, “अन्य स्थानीय तहलाई पनि डेङ्गुबारे सचेतना जगाउन आग्रह गरेका छौँ ।” उहाँका अनुसार डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेमा डेङ्गु लाग्दछ ।

डेङ्गु हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्नेलगायत लक्षण देखा पर्ने भन्दै डा.दाहालले लक्षण देखा परेमा तत्काल चिकित्सकको सल्लाह लिन आग्रह गर्नुभयो । लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्ने, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न उहाँले अनुरोध गर्नुभयो । “सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्ने, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्ने र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न दिनुहुँदैन,” इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा.दाहालले भन्नुभयो ।

उहाँका अनुसार सन् २०२३ मा करिब ५१ हजार एक सय ४३ र सन् २०२२ मा ५४ हजार ६ सय ३० जनामा डेङ्गु देखिएको थियो । नेपालमा पहिलो पटक सन् २००४ मा एक जनामा डेङ्गु देखिएको थियो । सन् २००५ मा भने डेङ्गुका बिरामी देखिएनन् । त्यसपछि सन् २००६ देखि डेङ्गुको सङ्क्रमण देखिँदै आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । रासस


सम्बन्धित समाचार