Logo

२३ चैत,वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिका–२ भेडिहारीस्थित ५० वर्षीया सरस्वती देवी चौरसियाको सडक दुर्घटनामा परी मृत्यु भयो ।

यही २१ चैतमा पकाहामैनपुरतर्फ जाँदै गरेको ना ४३ प २९०८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भइ पल्टिदाँ पछाडी सवार उनको टाउकोमा गम्भीर चोट लागेको थियो । त्यसपछि चौरसियाको एलएस न्युरो अस्पतालमा उपचारको क्रममा निधन भयो ।

यो घटनाको ठीक एक दिन अगाडि अर्थात् २० चैतमा बहुअरी प्रसौनीस्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भयो ।

पर्साकै जगरनाथपुर–६ का ४२ वर्षीय हरेन्द्र चौधरीको मोटरसाइक दुर्घटनामा निधन भएको प्रहरी बताउँछ । यो दुर्घटनामा थप २ जना घाइते पनि भएका थिए ।

वीरगञ्जबाट बहुअरीतर्फ जाँदै गरेको ना ७ प २६०३ र विपरीत दिशाबाट आउँदै गरेको प्र २–०३–००९ प ५३१५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदाँ उक्त दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलका चालकमध्ये ना ७ प २६०३ नम्बरका मोटरसाइकल चालकको उपचारको क्रममा अस्पतालमा ज्यान गयो ।

मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुने चौरसिया र चौधरीको त पछिल्लो उदाहरण मात्रै हुन् । दुर्घटनामा परी मृत्यु हुनेको संख्या लामै छ । हेरौं तथ्यांक ।

कुन वर्षमा कति मृत्यु ?
जिल्लामा तीनवर्षको अवधिमा सडक दुर्घटनाकै कारण ८७ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरी कार्यालय पर्साको तथ्यांक छ ।

सडक दुर्घटनामा परी आर्थिक वर्ष ०७८/०७९ देखि चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा ८७ जनाले ज्यान गुमाएको प्रहरी रेकर्ड छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्ष ०७८/०७९ देखि चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि फागुनसम्म ८ महिनाको अवधिमा ८७ जनाले ज्यान गुमाएका छन् ।

प्रहरीका अनुसार आर्थिक वर्ष ०७८/०७९ मा २१ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष ०७९/०८० मा ३३ र चालु आर्थिक वर्षको फागुनसम्ममा ३३ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरीको आँकडा छ ।

मृत्युसंगै सडक दुर्घटनामा परी गम्भीर घाइते हुनेहरुको संख्याको ग्राफमा पनि कमी आएको छैन् । गम्भीर घाइते हुनेहरुको तथ्यांक हेर्ने हो भने आव ०७८/०७९ मा ४७ गम्भीर घाइते भएको प्रहरी रेकर्ड छ । त्यसपछिको आवमा ५७ जना गम्भीर घाइते भएका छन् भने चालु आवमा ५९ जना दुर्घटनामा परी गम्भीर घाइते भएको प्रहरी विवरण छ ।

कुनकुन सवारीसाधन बढी दुर्घटनामा ?
ट्राफिक प्रहरीका अनुसार सबै खाले सवारीसधान सवारी दुर्घटनामा पर्ने गरेको छ । चालकको लापरबाहीका कारण बढी सवारीसाधन दुर्घटनामा पर्ने गरेको ट्राफिक प्रहरीको विश्लेषण छ ।

पर्सामा बढी गरेर ट्रक, ट्यांकर, टिपर, बस, कार÷जिप, ट्याक्टर, मोटरसाईकल र ट्याम्पो लगायतका सवारीसाधनबाट दुर्घटना हुने गरेको ट्राफिक प्रहरी कार्यालयको रेकर्डमा उल्लेख छ ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार यही तीन वर्षको अवधिमा कुल ९६७ वटा सवारीसाधन दुर्घटनामा परेका छन् ।

आव ०७८,०७९ मा २२७ वटा, ०७९/०८० मा २८१ र चालु आवमा ४५९ वटा सवारीसाधन दुर्घटनामा परको ट्राफिक प्रहरीले जनाएको छ ।

के कारणले दुर्घटना ?

यसरी तीन वर्षको तीन वर्षको तथ्यांक हेर्ने हो भने हरेक वर्ष सवारी दुर्घटना र घाइते हुनेको क्रम निरन्तर बढ्दो छ ।

सडक दुर्घटनाका कारण वर्षेनी ज्यान गुमाउनेको सङख्या बढ्दै गएको ट्राफिक प्रहरी निरीक्षक भाष्कर खतिवडाले जनाए ।

ओभर स्पीड, चालकको लारबाही, साघुँरो तथा अप्ठ्यारा सडक, सडकको खराब अवस्था, हेल्मेटको प्रयोग नगरिनु, मेशिनरी त्रुटी लगायतका कारण विशेषगरी दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको विश्लेषण छ ।

अझ ग्रामीण सडकमा सयौँको संख्यामा सवारीसाधन गुड्ने तर सडक व्यवस्थित नहुँदा बढी दुर्घटना हुने गरेको पनि पाइएको ट्राफिक प्रहरी प्रमुख खतिवडा सुनाउँछन् ।

उनी भन्छन्, ‘ दुर्घटना न्यूनीकरणका लागि प्रत्येक नागरिक सजक र जिम्मेवार हुनुपर्छ, चालक जिम्मेवार, यात्रु अनुशासित भए भने दुर्घटना कम हुन्थ्यो । धेरैजसो चालकको लापरबाहीले गर्दा गम्भीर दुर्घटना हुने गर्दछ भने कहिलेकाँही पुराना सवारीसाधन तथा सवारीको ब्रेक हुने लगायतका कारण पनि दुर्घटना हुन्छ, त्यसकारण केही हदसम्म सावधानी मात्रै अपनाइयो भने दुर्घटना न्यूनीकरणमा ठूलो सहयोग मिल्थ्यो ।’

यसको साथै सवारी चालक तथा यात्रुहरु आफै अनुशासित भइ, ट्राफिक नियमको पालना गरेर सवारी चलाउनुपर्नेमा जरुरी रहेको उनको सुझाव छ ।


सम्बन्धित समाचार