Logo

२६ चैत्र,बारा । बाराको जीतपुरमा विभेदपूर्ण लिङ्ग छनोट गरी गर्भपतन गराउँने बिरुद्ध एक दिने प्रचारप्रसार तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

जनस्वास्थ्य कार्यालय बारा ,कलैयाको आयोजनामा भएको कार्यक्रमको समन्वय जीतपुरसिमरा उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखाले गरेको थियो ।

अभिमुखिकरण कार्यक्रममा सहभागी चिकित्स तथा स्वास्थ्यकर्मिहरुले अझै पनि छोरी जन्मँदा गर्व गर्ने अवस्था नबनेको बताएका छन् । बिभिन्न आधुनिक प्रबिधिले झन् लिङ्गको पहिचान गरेर छोरा भए जन्म दिने र छोरी भएमा भ्रुणहत्या गर्ने अपराध बढेको उनीहरूले जनाएका छन्।

कार्यक्रममा उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख रबि भाष्करले बिभिन्न अध्ययन तथा गणनाले महिलाको भन्दा पुरुषको जनसङ्ख्या बढिरहेको तथ्याङ्क प्रस्तुत गरेका थिए । गर्भवती महिलामध्ये अधिकाँशले गर्भावस्थामा अल्ट्रासाउन्ड गराउने र लिङ्ग पहिचान गरी छोरी भए गर्भपतन गर्ने अपराध नरोकिएको बताएका थिए ।अहिले छोरीको भन्दा छोराको सङ्ख्या बढदै जानुको एक मुख्य कारकतत्व यो पनि भएको बताएका थिए । महिलाको चाहनाभन्दा पनि पुरुष प्रधान समाज,पितृसतात्मक सोच, अंश र वंशका लागि छोरा नै चाहिने गलत मानसिकताको परिणाम यस्तो हुन गएको जनस्वास्थ्य शाखा प्रमुख भाष्करले जानकारी दिनुभयो ।

लिङ्ग पहिचान गरी गर्भपतन गर्ने वा गराउनेलाई एक वर्षसम्म कैद र रु १० हजार जरिवाना देखि ५ बर्ष सम्म कैद र ५० हजार रुपैया सम्मको जरिवानाको सजायको व्यवस्था कानुनमा रहेको छ। तर, कानून भएर पनि यस्तो अपराध गर्ने वा गराउनेलाई पहिचान गरी कारबाही गर्न नसकिएको कतिपयको गुनासो छ ।

छोरीको मात्र गर्भपतन महिलासँग मात्र नभई समाजसँग गाँसिएको विषय भएको एक स्वास्थ्यकर्मि सबिना क्षेत्रीले बताईन् । छोरा र छोरी दुबै सन्तान बराबर हुन् । तर वृद्धावस्थामा आफूलाई सन्तानले हेर्नुपर्ने वा स्याहार्नुपर्ने बेला छोरी विवाह भएर अर्काको घर गइसक्ने हुनाले छोरा चाहिने सोच समाजमा छ । त्यसैले समाजमा छोराले बढी महत्त्व पाएको उनले जानकारी दिईन् ।

त्यस्तै अर्कि स्वास्थ्यकर्मि सोनि कुमार पासवानले धेरै महिलाका लागि छोराको चाहना सामाजिक बाध्यता बनेको बताईन् । आमाबाबुको माया छोरामा जत्तिकै छोरीमा पनि नहुने होइन । तर हाम्रो सामाजिक व्यवहार र सांस्कृतिक प्रचलनले सन्तानका रूपमा छोरा नै चाहिने मान्यतालाई पक्षपोषण गरिरहेको बताईन् । यता वैवाहिक संस्कार र सामाजिक परम्परामै परिवर्तन नल्याई छोराछोरी समान हुन् भनेर बताईरहँदा पनि ब्यवहारमा समानता नआएको जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख भाष्करले बताए । कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय बाराका अधिकृत भागिरथ चौधरीले गरेका थिए ।


सम्बन्धित समाचार