Logo

२७ चैत,ठोरी । पर्यटकीय क्षेत्रको पुर्वाधार कमजोर भएपनि सुवर्णपुरमा रहेको होम स्टेमा यस वर्ष उत्साहजनक रुपमा पर्यटक भित्रिएको तथ्याङ्क छ । सीमित पर्यटकीय क्षेत्र मात्र भएको ठोरी गापा –५, सुवर्णपुरमा रहेको सुनाखरी होमस्टेमा यस वर्ष स्वदेशी र विदेशी ५ सय ५० जना पर्यटकहरु बास बसेका हुन्। यो यस वर्षको वैशाख महिनादेखि चैत सम्मको तथ्याङ्क हो । यस वर्ष विदेशी लगायत नेपालकै पोखरा , काठमाडौं , बिराटनगर , भैरहवा लगायतका विभिन्न ठाउँका आन्तरिक पर्यटकहरु घुमफिर गर्न होमस्टे आइपुगेका हुन्।

व्यवस्थित मनोरन्जनात्मक पार्क र बाल उद्यान समेत नभएको ठोरीमा ५ सय भन्दा धेरै पर्यटक बास बस्न आउनु यो क्षेत्रको निमित्त सुखद कुरा भएको सो होमस्टे व्यवस्थापन समिति अध्यक्ष शम्भुराम पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार यस वर्ष झण्डै ५० जना जर्मन , अमेरिका लगायतका विभिन्न देशका विदेशी पर्यटकहरु समेत होमस्टे आएका छन्। कोरोनाको संक्रमणको बेला सुस्ताएको पर्यटकीय चहलपहल वृद्धि हुँदै गइरहेको भएपनि ठोरीमा पुर्वाधार निर्माण भने आशालाग्दो छैन्।

गुम्बा , मन्दिर , निकुञ्ज भन्दा बाहेक अन्य कुनै बाल उद्यान र पार्क बन्न सकेको छैन्। यहाँ बौद्ध धर्मका गुम्बा , बाघमोर्चा मन्दिर ,पर्सा राष्ट्रिय निकुञ्ज , गडुवामा रहेको पोखरी , शहिद स्मारक , यस्तै साविक ठोरीको रातो पहाड , सेतो भिर , गोले डाँडा जस्ता सीमित धार्मिक र प्राकृतिक स्थलहरुमात्र छन्। जसका कारण सुवर्णपुर आइपुगेका पर्यटकहरुलाई समेत सीमित ठाउँमा मात्र घुमफिर गराउनुपर्ने बाध्यता रहेको अध्यक्ष पौडेलको भनाइ छ ।

होमस्टेको प्रत्येक कोठामा एट्याच बाथरुमसहितको सुविधा र पाहुना कोठा उपलब्ध गराएर भौतिक सुविधा प्रदान गरिएको भएपनि पर्यटकीय पुर्वाधारमा वृद्धि नहुँदा पाहुनाको बसाई अवधी लम्ब्याउन कठिन भएको उहाँले बताउनुभयो । होमस्टे सन्चालन भएको करीब ७ वर्षको अवधीमा पर्यटकलाई आकर्षित गर्न थप गन्तव्यको निर्माण नहुँदा दोहोर्याएर आउने पर्यटकको सङ्ख्यामा समेत उल्लेखनीय वृद्धि हुन नसकेको पौडेलको कथन छ।

मधेस प्रदेशकै पहिलो होमस्टेका रुपमा २०७३ साल भदौदेखि सन्चालनमा आएको होमस्टेमा आउने पर्यटकहरुले प्रतिव्यक्ति रु १ हजार तिरेर पर्सा राष्ट्रिय निकुञ्जभित्र जीप सफारी भने गर्न पाउँछन्। प्रदेश सरकारले अनुदानमा उपलब्ध गराएको जीपलाई होमस्टेले आफैं सन्चालन गरेर निकुञ्ज भित्र रहेको प्रसिध्द धार्मिक स्थल दुग्धेश्वर भाठाधाम सम्म अवलोकन गराउन लैजाने व्यवस्था मिलाएको छ ।

यस्तै आगामी वर्षदेखि होमस्टे आफैले शुद्ध तोरीको तेल पर्यटकहरुलाई सुलभ मुल्यमा बिक्री गर्दै यहाँको तोरीको तेलको प्रचारप्रसार गर्ने तयारी गरेको छ । त्यसका निमित्त आगामी वैशाखबाट होमस्टे आफैले तोरी पिस्ने मिल सन्चालन गर्न लागेको अध्यक्ष पौडेलले बताउनुभयो । सुनाखरी उपभोक्ता समितिको पहलमा गत महिनामात्र तराई भुपरिधी कार्यक्रमले सो होमस्टेलाई तोरी पिस्ने मिल उपलब्ध गराएको थियो ।

२०७३ सालमा १० घरबाट सुरु गरिएको सुवर्णपुर गाउँमा हाल १५ घरमा होमस्टे छ । सबै होमस्टेमा गरी ३० बेड छन् र अधिकतम ९० जनासम्मलाई राख्न सकिने व्यवस्था छ। यस होम्स्टेमा तामाङ गीत, नृत्य तथा संस्कृति देखाउने पनि गरिएको छ । यसले यस क्षेत्रको बहुसङ्ख्यक बसोबास रहेको तामाङ संस्कृति रक्षा र एकअर्काको संस्कृतिसँग परिचित हुने अवसर पनि जुटाइरहेको छ ।


सम्बन्धित समाचार