Logo

फाइल तस्बिर

३० चैत,वीरगञ्ज । तराई मधेशमा मनाईने लोकआस्थाको पर्व चैती छठको विधि आजबाट सुरु भएको छ ।

चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने छठ पर्वको आज पहिलो दिन बर्तालुुले ‘नहाय–खाय’ अर्थात पवित्र स्नान गरेर शुद्ध खाने विधिबाट पर्वको प्रारम्भ गरेका हुन् । पर्वको पहिलो दिन पवित्र स्नान गरेर व्रत सङ्कल्प गरी चोखोनीतो खाने चलन छ । शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो ।

शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गर्नेगरिन्छ । पर्वको आज पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन भोलि दिनभरि उपवास बसेर राति सख्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’, मनाईने छ भने तेस्रो दिन अर्थात् षष्टि तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदा सूर्यलाई अर्घ दिईने छ ।

पवित्र जलाशयको घाटमा कम्मरसम्म पानीमा चोवलिएर अघ्र्य दिइन्छ, जसलाई ‘साँझको अर्घ अर्थात सँझिया घाट भनिन्छ । अन्तिम दिन सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई घाटमै अघ्र्य दिएर पर्व सम्पन्न गरिन्छ । यो विधिलाई ‘भोरे घाट’ वा ‘पारन’ पनि भन्ने गरिन्छ । छठ पर्वमा ठकुवा, भुसुवा (कसार) सहितका मिष्ठान्न परिकारसहित पाकेका केराक र अन्य फलफूल तथा दहीसहितका सामग्री बर्तालुुले अघ्र्यका बेला सूर्यतर्फ देखाउने गर्छन् ।

यो व्रतको प्रभावले हरेक मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । व्रत प्रभावले छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास छ । चैती छठ सुरु हुनपूर्व चैत शुक्ल प्रतिपदासँगै वासन्ती नवरात्र (चैते दसैँ) पनि सुरु भएको छ । चैत शुक्ल प्रतिपदादेखि नवमीसम्म वासन्ती नवरात्र मनाइन्छ । यस अवसरमा देवीपीठमा पूजाआराधना गर्ने श्रद्धालुहरु बढेका छन् ।


सम्बन्धित समाचार